विपद् प्रभावितलाई करिब १७ लाख राहत वितरण
वि.सं.२०८३ कात्तिक १७ मंगलवार ०७:४५
shares

सारांश
- म्याग्दी, पर्वत र बागलुङका विपद् प्रभावितलाई १६ लाख ७४ हजार रुपैयाँ राहत।
- बाढीपहिरोमा ज्यान गुमाएका २४ परिवारसहित प्रभावित बस्तीलाई पुन मगर समाजको सहयोग।
- नेपाल र बेलायतका पुन मगर समुदायबाट सङ्कलित रकम विपद् प्रभावितलाई वितरण।
म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा बाढीपहिरोबाट प्रभावित परिवार, बस्ती तथा स्थानीय तहलाई करिब १७ लाख रुपैयाँ राहत सहयोग वितरण गरिएको छ।
पुन मगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन गरिएको १६ लाख ७४ हजार ३७५ रुपैयाँ सोमबार मृतकका परिवार, प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषलाई उपलब्ध गराइएको हो।
समाजका योगकुमार फगामीका अनुसार म्याग्दीमा बाढीपहिरोमा परी ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत दिइएको छ। यसका लागि पुन मगर समाज यूकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए।
त्यस्तै, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजार रुपैयाँका दरले एक लाख ३० हजार रुपैयाँ वितरण गरिएको छ। पर्वतमा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ।
म्याग्दीका प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि रकम उपलब्ध गराइएको छ। रघुगङ्गा गाउँपालिकाको कोषमा ५० हजार तथा मालिका र मङ्गला गाउँपालिकाको कोषमा जनही २५ हजार रुपैयाँ सहयोग गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनमार्फत विभिन्न प्रभावित क्षेत्रका लागि पनि राहत रकम हस्तान्तरण गरिएको छ। पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका लागि तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँतका लागि दुई लाख, काफलडाँडाका लागि दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङका लागि ६४ हजार ३७५ रुपैयाँ उपलब्ध गराइएको छ।
यसैगरी, पर्वतका मिर्गौला पीडितलाई एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको समाजले जनाएको छ। विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरिएको समाजको भनाइ छ।

























