एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
वि.सं.२०८३ असोज २७ मंगलवार ०८:०२
shares

काठमाडौं । एनएमबी बैंक लिमिटेड र र्यापिड टेक प्रालिबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गर्ने सम्झौता भएको छ। ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा भएको सम्झौताको उद्देश्य व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउनु हो।
सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नो बैंकिङ प्रणालीभित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान (रिकन्सिलिएसन) लगायतका बैंकिङ कारोबार गर्न सक्नेछन्।
त्यसैगरी, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
निकट भविष्यमा सञ्चालनमा आउने यो सुविधाले बैंकिङ कारोबारका क्रममा हुने अनावश्यक झन्झट कम गर्नुका साथै ग्राहकको समय बचत गर्न र वित्तीय कारोबारलाई थप सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
























