गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच शैक्षिक समझदारी

नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच शैक्षिक समझदारी

नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच शैक्षिक समझदारी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारी भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र शिक्षा तथा बालबालिकाको क्षेत्रमा सक्रिय सिर्जनशील नेपालबीच जेहेन्दार तथा मेहनती विद्यार्थीलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शैक्षिक समझदारी कायम भएको हो ।

समझदारी पत्रमा कलेजका सहायक प्राचार्य मोहनध्वज केसी तथा सिर्जनशील नेपालका सचिव नेत्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । बुधबार कलेजमा सम्पन्न कार्यक्रममा समझदारी पत्र हस्तान्तरण गर्दै सिर्जनशील नेपालका सचिव उपाध्यायले उच्च शिक्षा हासिल गर्न योग्य भए पनि आर्थिक तथा पारिवारिक रूपमा कमजोर छात्रालाई इन्जिनियरिङ शिक्षा प्रदान गर्न यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । समझदारीअनुसार संस्थाले एक जना छात्रालाई सम्पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्नेछ ।

चालू शैक्षिक सत्रका लागि संस्थाले आर्किटेक्चरमा अध्ययनरत एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताए । उनले इन्जिनियरिङ शिक्षामा गरिब, विपन्न तथा छात्राहरूको पहुँच स्थापित गर्न संस्थाले गरेको योगदानको प्रशंसा गरे ।

कलेजका अनुसार आर्किटेक्चरको पाँच वर्षे कोर्सको शुल्कमा कलेजले समेत छुट प्रदान गरेपछि बाँकी रकम सिर्जनशील नेपालले व्यहोरेको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकाले नेपाल इन्जिनियरिङ कलेजले हरेक वर्ष इन्जिनियरिङका विभिन्न विधामा १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । सिर्जनशील नेपालले जेहेन्दार तर आर्थिक तथा पारिवारिक रूपमा कमजोर बालबालिकालाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ । संस्थाले काठमाडौंका विभिन्न कलेजमा ५५ जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराइरहेको छ ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु