गृहपृष्ठ दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार
दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार
काठमाडौँ । दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ ।
किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको जनाएको छ । यही असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ ।
दूधको गुणस्तर सुधारका लागि फ्याट तथा एसएनएफको मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकता दिइएको छ । सात दशमलव आठ प्रतिशतभन्दा कम एसएनएफ (दूधमा चिल्लो पदार्थबाहेक पाइने प्रोटिन, ल्याक्टोज, र खनिज पदार्थ) भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको छ ।
बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा मोहीको बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र ताजा दूध २१ प्रतिशतले वृद्धि भएको छ । दैनिक बिक्री राजस्व करिब ९० लाख पुगेको छ भने काठमाडौँ उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व एक करोड २० लाख पुर्याउने लक्ष्य राखेको छ ।
खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिकटन घ्यू निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० किलो ध्यू निर्यात गरिएको संस्थानले जनाएको छ । संस्थानले खर्च नियन्त्रणका लागि कम दूध सङ्कलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी सङ्घबाट सिधैँ दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनमा जोड दिने नीति अघि बढाएको छ ।
प्रकाशित समय : २०:१४ बजे


















