गृहपृष्ठ नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GIZ बीच सहकार्य

नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GIZ बीच सहकार्य

नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GIZ बीच सहकार्य

काठमाडौं । नेपालको सार्वजनिक यातायात तथा मोबिलिटी क्षेत्रमा डिजिटल भुक्तानी विस्तार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र Deutsche Gesellschaft fur Internationale Zusammenarbeit (GIZ) GmbH बीच सहकार्य भएको छ ।

सम्झौतामा GIZ–SET4NPL का प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सहकार्य अन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गरी GIZ को SET4NPL परियोजनामार्फत सार्वजनिक यातायातसम्बन्धी भुक्तानीलाई थप डिजिटल बनाइनेछ ।

यसक्रममा यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्मसँग NEPALPAY QR, NEPALPAY Card र connectIPS लगायतका भुक्तानी माध्यम एकीकृत गर्ने तयारी छ । एनसीएचएलका अनुसार यसले यात्रुलाई विभिन्न सार्वजनिक यातायात सेवामा एउटै डिजिटल भुक्तानी पूर्वाधारमार्फत भाडा तिर्न सहज बनाउनेछ ।

सहकार्यअन्तर्गत ‘ओपन-लूप टिकटिङ’ प्रणालीलाई समेत प्रवर्द्धन गरिनेछ । यसबाट छुट्टाछुट्टै यातायात सेवाका लागि अलग कार्ड वा भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षा गरिएको छ । यसले टिकटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्टसम्मका प्रक्रियालाई डिजिटल बनाउन सहयोग गर्नेछ ।

एनसीएचएलले एकीकरण, परीक्षण तथा डिप्लोयमेन्टका लागि आवश्यक एपीआई र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । GIZ–SET4NPL ले भने परियोजनाअन्तर्गत विकास भएका टिकटिङ प्रणाली, एप्लिकेसन तथा उपकरणमा एनसीएचएलका भुक्तानी माध्यम जोड्न सहजीकरण गर्नेछ ।

एनसीएचएलले यस सहकार्यलाई सार्वजनिक यातायात तथा भविष्यमा विकास हुने मोबिलिटी सेवासम्म राष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ । सार्वजनिक यातायातमा नगदमा आधारित भाडा संकलनलाई क्रमशः डिजिटल प्रणालीतर्फ लैजाँदा यात्रुको सुविधा, कारोबारको पारदर्शिता र भाडा व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु