गृहपृष्ठ प्रतिनिधिसभाः जनअपेक्षाबमोजिम उपलब्धि हासिल नभएको प्रमुख प्रतिपक्ष दलका नेताको जिकिर

प्रतिनिधिसभाः जनअपेक्षाबमोजिम उपलब्धि हासिल नभएको प्रमुख प्रतिपक्ष दलका नेताको जिकिर

प्रतिनिधिसभाः जनअपेक्षाबमोजिम उपलब्धि हासिल नभएको प्रमुख प्रतिपक्ष दलका नेताको जिकिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन ।

प्रतिनिसभाको आजको बैठकमा समय लिएर नेता आङ्देम्बेले निर्वाचनबाट झण्डै दुई तिहाइको जनमत प्राप्त हुनु एक विशेष अवसर भए पनि त्यसअनुसार काम हुन नसकेको दाबी गरे । उनले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधनका विषयवस्तु आफैंमा ठीक भए पनि भ्रमणमा जानुपूर्व र भ्रमणपछि संसद्लाई त्यसबारे जानकारी नदिएको गुनासो गरे ।

“संसद् लोकतन्त्रको अभ्यास र पाठशाला हो । प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन, प्रतिपक्ष र सत्तापक्षबाटै प्रश्न आउँदा प्रधानमन्त्रीको सदनमा उपस्थिति हुनु आवश्यक हुन्छ । तर प्रधानमन्त्री सदनमा नआएर के काममा व्यस्त हुनुहुन्छ भन्ने संसद्लाई थाहा हुनुपर्छ ।” आङ्देम्बेले भने,

उनले भने, “हामीले नयाँ पुस्तालाई संसदीय अभ्यास र लोकतन्त्रबारे के सिकाउन खोज्दैछौँ भन्ने कुरा मनन् गर्नुपर्छ । संसद् भनेको मन परेका बेला आउने र नपरेकाबेला नआउने थलो किमार्थ हुन सक्दैन । यो सत्तापक्ष र प्रतिपक्षको साझा थलो हो, यहाँ जनताका समस्या र समाधानका विषयमा प्रश्नोत्तर गरिन्छ । प्रश्नबाट भाग्ने शासन कमजोर सावित हुन्छ ।”

संसदीय लोकतन्त्र र संस्थागत संरचनालाई बलियो बनाई विधि र कानुनको शासन सञ्चालन गर्न आग्रह गर्दै नेता आङ्देम्बेले पूर्व प्रधानन्यायाधीशलाई हिरासतमा लिइएको घटनाका बारेमा सदनलाई जानकारी गराउन माग गरे ।

उनले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनःनिर्माणमा कार्यकुशलता प्रदर्शन नभएको तथा नजिकिएको चाडपर्वका समयमा बजारको महँगी र कालोबजारी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै राष्ट्रिय दलका शीर्ष नेताहरुको परामर्शका आधारमा सरकारलाई दिइएको सुझावाको सुनुवाइ नभएको भनी दुःख व्यक्त गरे ।

नेता आङ्देम्बेले २०८२ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित प्रतिवेदन कार्यान्वयन गर्न, निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र विदेश नीतिमा राष्ट्रिय हितलाई निरन्तरता कायम राख्न आग्रह गरे । उनले प्रदेश र स्थानीय सरकारलाई शासनका प्रत्येक कार्यमा साझेदार बनाउनुपर्ने र राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु