गृहपृष्ठ प्रतिनिधिसभाः  शून्य समयमा जलवायु न्यायदेखि बजार नियमनसम्मका माग

प्रतिनिधिसभाः  शून्य समयमा जलवायु न्यायदेखि बजार नियमनसम्मका माग

प्रतिनिधिसभाः  शून्य समयमा जलवायु न्यायदेखि बजार नियमनसम्मका माग
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले जलवायु न्यायदेखि चाडपर्वका मुखमा खाद्य वस्तुको सहज आपूर्तिका लागि बजार नियमनसम्मका माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनिहरुले किसान र मजदुरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सडक मर्मत गरी नियमित आवतजावतको व्यवस्था गर्नसमेत माग गरेका छन ।
बैठकमा सांसद बलावती शर्माले बागलुङमा बाढीबाट भएको जनधनको क्षति र आवतजावतमा भएको अवरोध बारेमा जानकारी गराउँदै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर आवश्यक राहतको काम गर्न आग्रह गरिन ।
सांसद वसुमाया तामाङले भोटेकोशी बाढीबाट प्रभावित पर्यटन मजदुरका समस्या समाधानका लागि तत्काल पर्यटन कोषको रकम राहतमा खर्चका लागि सरकारको ध्यानाकर्षण गराइन ।
सांसद बिना गुरुङले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले राखेको विषय प्रशंसनीय भएको उल्लेख गर्दै अब नेपालले जलवायु न्यायका लागि दया होइन न्याय चाहिएको विषय उठाउन आवश्यक रहेको उल्लेख गरिन ।
सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एण्ड स्टिल उद्योगका मजदुरले नौ महिनादेखि करोडौँ रुपैयाँ पारिश्रमिक नपाएको अवगत गराउँदै समाधानका लागि यथाशीघ्र पहल गरिदिन सरकारको ध्यानाकर्षण गराए।
सांसद भरत गिरीले यात्राका क्रममा प्रमुख राजमार्गमा सवारी चालकले मनपरी होटलमा रोक्ने गरेको उल्लेख गर्दै होटलको खाना र मूल्यमा प्रभावकारी अनुगमन गर्न माग गरे ।
सांसद भरतप्रसाद पराजुलीले मेलम्ची विपद्का विस्थापितका लागि घोषणा गरिएको राहत र क्षतिपूर्ति हालसम्म पूर्ण रुपमा कार्यान्वयन नभएको अवगत गराउँदै तत्काल सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराए । साथै उनले भोटोकोशीमा बगेका गाडीमा सम्बन्धित बैंकले किस्ता तिर्न ताकेता गरेको उल्लेख गर्दै केही समय पर्खिनका लागि व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे ।
सांसद भीमकुमारी बुढामगरले दाङको देउखुरीमा स्वर्गद्वारी गुठीको जग्गाका मोहीका समस्याका बारेमा अवगत गराउँदै सम्बन्धित कानुन बनाई व्यविस्थत गर्न माग गरिन।
सांसद भूमिका श्रेष्ठले महिला मन्त्रालयको नाम परिवर्तन भए पनि अल्पसङ्ख्यक लैङ्गिक समुदायको थप अधिकारका लागि विनियोजित बजेट कम भएको उल्लेख गर्दै रकमान्तरमार्फत थप बजेट व्यवस्था गर्न माग गरिन ।
सांसद मञ्जु भुसालले ३५ अर्बमा बनेको गौतम बुद्ध विमानस्थलमा गत चैतदेखि हालसम्म एउटा पनि अन्तरराष्ट्रिय उडान नभएको उल्लेख गर्दै  अब कहिलेदेखि सुरु हुन्छ भनी सरकारसँग प्रश्न गरे ।
सांसद मदनकृष्ण श्रेष्ठले भोटोकोशी बाढीबाट पाठ सिक्नुपर्ने बताउँदै व्यवस्थित सहर बसाउन योजना बनाउनुपर्ने बताए । सांसद मधुकुमार चौलागाईंले भोटेकोशी बाढीबाट काभ्रेका धेरै युवालाई  बेपत्ता बनाएको उल्लेख गर्दै पछिल्लो समयमा मनाङमा हिमपहिरोमा बेपत्ता नागरिकको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गरे ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु