गृहपृष्ठ स्टिल अभावले एसियाली राजमार्गका तीन पुल निर्माण प्रभावित
स्टिल अभावले एसियाली राजमार्गका तीन पुल निर्माण प्रभावित
झापा । एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ।
आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङका लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन्। आवश्यक स्टिल समयमै आपूर्ति हुन नसक्दा निर्माणको गति प्रभावित भएको उनले बताए।
तातोपानी नाका बन्द भएपछि केरुङ–रसुवागढी नाका हुँदै स्टिल ल्याउने गरिएको थियो। तर, गत साउन १० गतेको भोटेकोशी बाढीपछि सडक अवरुद्ध हुँदा त्यसतर्फबाट हुने आपूर्ति पूर्णरूपमा रोकिएको आयोजनाले जनाएको छ।
पुल निर्माणका लागि आवश्यक ४२० ग्रेडको गुणस्तरीय स्टिल नेपालमा उपलब्ध नहुने भएकाले भारतबाट अर्डर गरेर ल्याउनुपर्ने अवस्था रहेको प्रजापतिले बताए। उनका अनुसार अर्डर गरेपछि पनि भारतबाट समयमै स्टिल नआउँदा निर्माण प्रभावित भएको हो।
‘अहिले भारतबाट अर्डर गरेर मात्र पुल निर्माणमा चाहिने स्टिल ल्याउने गरेका छौँ,’ उनले भने, ‘नेपालमा गुणस्तरीय ४२० ग्रेडको स्टिल पाइँदैन। अर्डर गर्नुपरेकाले भारतबाट समेत भनेको समयमा नआउँदा समस्या भएको छ।’
आयोजनाका अनुसार तीनवटै पुलको हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ। रतुवा पुलको निर्माण भने ५२ प्रतिशत पूरा भएको छ। सम्झौताअनुसार पुल निर्माण आगामी २०८३ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। तर, निर्माण सामग्रीको अभावका कारण तोकिएको समयमै काम सम्पन्न गर्न कठिन हुने आयोजना प्रमुख प्रजापतिले बताए।
रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ। तीनवटै पुलमा आधुनिक ‘स्टिल आर्क’ प्रविधि प्रयोग गरिनेछ।
तीन पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले करिब ५ अर्ब रुपैयाँमा लिएको हो। पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक काम चिनियाँ कम्पनीले गर्नेछ भने अन्य सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले गरिरहेको आयोजनाले जनाएको छ।
रतुवा नदीमा निर्माण हुने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमा २६४ मिटरको खण्ड स्टिल आर्क र बाँकी भाग कङ्क्रिटको हुनेछ। पुलमा तीनवटा स्पान रहनेछन्। लोहन्द्रा नदीको ३८५ मिटर लामो पुलमा ८०–८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन्। बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ।
वर्षायाममा समेत पुल निर्माणको काम जारी रहेको छ। अहिले रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ। रतुवा पुलको काम सकिएपछि लोहन्द्रा र बक्राहा पुलको निर्माणलाई तीव्रता दिइने आयोजना प्रमुख प्रजापतिले बताए।
झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्मको करिब ४० किलोमिटर सडक खण्डमा यी तीनवटा पुल निर्माण भइरहेका छन्।
प्रकाशित समय : ०६:४६ बजे


















