गृहपृष्ठ भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशीलगायत हालैका जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकासमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै खनालले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग र हिमाली क्षेत्रका विषयमा जी–७ को सहयोग र सहकार्यका लागि आग्रह गरेका हुन्।

नेपालमा हालै आएको जलवायुजन्य विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै उनले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको बताए। विपद्का कारण जनजीवनसँगै अत्यावश्यक सेवासमेत प्रभावित भएको उनको भनाइ थियो।

प्रारम्भिक आकलनअनुसार विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बैठकमा जानकारी गराए।

खनालले विपद्को वैज्ञानिक अध्ययन भइरहेको बताउँदै तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू–बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए। सरकारले जलवायु परिवर्तनसँगै भौगर्भिक, हिमनदीजन्य तथा जलविज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उनले जानकारी दिए।

‘जलवायु परिवर्तन नेपालका लागि अब टाढाको खतरा रहेन,’ उनले भने, ‘यो हाम्रो वर्तमान यथार्थ हो र यसको प्रभावको तीव्रता तथा आवृत्ति दुवै बढ्दै गएको छ।’

उनका अनुसार जलवायुजन्य विपद्ले जनधन र जीविकोपार्जनमा क्षति पुर्‍याउनुका साथै लामो प्रयासबाट हासिल गरिएका विकासका उपलब्धिलाई समेत प्रभावित गरिरहेको छ। हिमाल, नदी, समुदाय तथा महत्वपूर्ण पूर्वाधार बाढी, पहिरो, हिमनदीजन्य जोखिम र अन्य जलवायुजन्य विपद्को बढ्दो जोखिममा रहेको उनले बताए।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसको असर भने नेपालले असमान रूपमा भोगिरहेको खनालले बताए। ‘नेपालले विश्वव्यापी उत्सर्जनमा अत्यन्त न्यून योगदान गरेको छ। तर विनाशकारी बाढी तथा पहिरोदेखि हिमनदी पग्लिनेसम्मका जलवायुजन्य प्रभाव हामीले असमान रूपमा भोगिरहेका छौँ,’ उनले भने।

पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालका पाँच प्रमुख प्राथमिकता प्रस्तुत गर्दै खनालले पहिलो प्राथमिकतामा दीर्घकालीन पुनःस्थापना साझेदारीलाई राखे। मानवीय सहायतामा मित्रराष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताए।

दोस्रो प्राथमिकताका रूपमा उनले जलवायु वित्तमा पहुँच सहज बनाउन आग्रह गरे। अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी वित्त विकासशील र जलवायु जोखिममा रहेका मुलुकका लागि छिटो, सरल र सहज रूपमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो। नेपालले हानि तथा क्षति कोषसम्बन्धी वित्तीय व्यवस्थाका लागि अनुरोध गरिसकेको र सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा रहेको उनले जानकारी दिए।

त्यस्तै, विपद् रोकथाम तथा पूर्वतयारीमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए। पूर्वसूचना प्रणाली, जलवायु सूचना, जल तथा मौसमसम्बन्धी सेवा, जलवायु उत्थानशील पूर्वाधार र समुदायमा आधारित विपद् पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिन उनले जी–७ तथा अन्य साझेदार राष्ट्रलाई आग्रह गरे।

जलवायुजन्य विपद्को बढ्दो गम्भीरता सम्बोधन गर्न बहुपक्षीय वित्तीय संस्थामार्फत शीघ्र, किफायती र सहज वित्तीय स्रोत परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए।

‘समयमै उपलब्ध हुने वित्तीय स्रोत केवल वित्तीय साधन मात्र होइन, जलवायुजन्य धक्काबाट बारम्बार प्रभावित हुने जोखिममा रहेका मुलुकका लागि जीवनरेखा हो,’ उनले भने।

बहुपक्षीय विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहकार्य गरी आवश्यक वित्तीय स्रोत परिचालन गर्न जी–७ सदस्य राष्ट्रले आफ्नो प्रभाव र संयोजन क्षमता उपयोग गर्नुपर्ने खनालको भनाइ थियो।

खनालले हिमाली क्षेत्रलाई विश्वव्यापी जलवायु कार्यसूचीमा थप प्राथमिकता दिनुपर्ने बताए। हिमनदी, हिमाल तथा जलप्रणालीको भविष्य क्षेत्रीय तथा विश्वव्यापी जलवायु सुरक्षासँग जोडिएको उनको भनाइ थियो।

‘हिमालयमा हुने परिवर्तन हिमालयमै सीमित रहँदैन,’ उनले भने, ‘यसले दक्षिण एसिया तथा त्यसबाहिरका मनसुन प्रणाली, नदी तटीय क्षेत्र, कृषि प्रणाली तथा लाखौँ मानिसको जीवनमा प्रभाव पार्छ।’

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र साझा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि जी–७ सँग सहकार्य गर्न नेपाल तयार रहेको उनले बताए।

भोटेकोशी विपद्लाई नेपालमा मात्र सीमित त्रासदीका रूपमा नहेर्न आग्रह गर्दै खनालले यसलाई हिमालयबाट विश्व समुदायका लागि आएको गम्भीर सन्देशका रूपमा प्रस्तुत गरे।

‘भोटेकोशीको विपद् केवल नेपालको त्रासदी होइन। यो हिमालयबाट आएको एउटा चेतावनी हो। तातिँदो पृथ्वीले दशकौँको विकास उपलब्धिलाई केही घण्टामै उल्ट्याउन सक्छ,’ उनले भने।

उनले अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई ठोस कार्यमा, जोखिमलाई उत्थानशीलतामा र साझा जिम्मेवारीलाई जलवायु न्यायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

‘नेपाल सुरक्षित, उत्थानशील र दिगो विश्व निर्माणका लागि जी–७ लगायत सबै अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्न तत्पर छ,’ खनालले भने।

प्रकाशित समय : ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु