बाढी प्रभावित अटोमोबाइल व्यवसायीलाई सहजीकरण गर्ने नाडाको तयारी
वि.सं.२०८३ असोज ६ मंगलवार १३:१८
shares

काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने भएको छ ।
नाडाका अनुसार बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको छ । भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको छ ।
नाडाले प्रभावित सदस्य तथा व्यवसायीलाई आवश्यक सहयोग र समन्वयका लागि सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायसँग पहल सुरु गरिसकेको छ ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित सदस्य कम्पनीलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । क्षतिको विवरणमा बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या, प्रकार र उपलब्ध पहिचान विवरण समावेश गर्न आग्रह गरिएको छ ।
त्यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसम्बन्धी विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने नाडाले जनाएको छ । नाडाले प्रभावित क्षेत्रको क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने तयारी गरेको छ ।
विशेषगरी बीमा दाबी प्रक्रियालाई शीघ्र र सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाको योजना छ ।
त्यसैगरी प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गर्ने छ ।
अटोमोबाइल क्षेत्रमा परेको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको भनाइ छ ।
यस कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत नाडाले गरेको छ । उक्त समितिमार्फत प्रभावित सदस्य व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गरिनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कठिन परिस्थितिमा प्रभावित सदस्य व्यवसायीलाई साथ दिन संस्था प्रतिबद्ध रहेको बताउँदै यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति संकलन गरी बीमा, भन्सार, बैंक तथा वित्तीय संस्था र सरकारी निकायसँग समन्वयमार्फत राहत तथा सहजीकरणको पहल गर्ने जनाएको छ ।

























