गृहपृष्ठ खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
नारायणगढ । बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ ।
बरन्डाभार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको दीर्घकालीन संरक्षणका लागि कार्यालयले सरोकारवालाबीच छलफल सुरु गरेको हो । कार्यालयका अनुसार खोलाको संरक्षणले बरन्डाभार जैविक मार्ग, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यहाँको समग्र पारिस्थितिक प्रणाली जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खगेरी खोलाको महत्व जनस्तरसम्म पु¥याउन र स्थानीय तहलाई पनि संरक्षण अभियानमा सहभागी गराउन बृहत् छलफल सुरु गरिएको बताए । उनले बरन्डाभार क्षेत्र निकुञ्जको दिगो संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै खगेरी त्यस क्षेत्रको प्रमुख जलाधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनले भने, “बरन्डाभार क्षेत्र जोगाउन खगेरी जलाधार जोगिनुपर्छ । यो केवल खोला मात्र होइन, बरन्डाभारको जीवन प्रणालीसँग जोडिएको जलाधार हो ।” खगेरी खोला इच्छाकामना गाउँपालिका–७ बाट सुरु भई बरन्डाभार क्षेत्र हुँदै बीसहजारी तथा आसपासका ताल–तलाउमा पानी पु¥याउँदै चितवन राष्ट्रिय निकुञ्जभित्र बुढीराप्ती नदीमा मिसिन्छ । यसले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा सिँचाइ सुविधा पु¥याउँदै आएको छ ।
जलाधारविज्ञ डा नवीन ढुङ्गानाले खगेरी जलाधार बरन्डाभार जैविक मार्गको जीवनरेखा रहेको बताए । उनका अनुसार खगेरी खोलाको प्रभाव क्षेत्र करिब १७२ वर्ग किलोमिटर रहेको छ भने बीसहजारी, राइनो ताल, टाइगर ताललगायत दर्जनौँ ताल–तलाउमा पानीको आपूर्ति गर्ने मुख्य स्रोत पनि यही हो ।
उनले भन्े, “खगेरी सिँचाइ र जल पुनर्भरण गर्ने प्रणाली हो । बीसहजारी क्षेत्रलगायत यहाँका ताल–तलाउ जीवित राख्न यसको महत्वपूर्ण भूमिका छ ।” डा ढुङ्गानाले बरन्डाभार जैविक मार्ग दक्षिणमा भारतको वाल्मीकि टाइगर रिजर्भदेखि उत्तरमा अन्नपूर्ण संरक्षण क्षेत्रसम्म वन्यजन्तुको आवागमनका लागि महत्वपूर्ण जैविक मार्गका रूपमा विकास हुने सम्भावना रहेको उल्लेख गरे। त्यसैले खगेरी जलाधारको संरक्षण वन्यजन्तु, जैविक विविधता र समग्र पारिस्थितिक प्रणालीका लागि आवश्यक रहेको उनको भनाइ छ ।
उनले खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, विभिन्न स्थानमा फोहर डम्पिङ, पिकनिकस्थलबाट हुने फोहर तथा अव्यवस्थित उपयोगले जलाधार र वन्यजन्तु दुवैमा प्रत्यक्ष असर परेको बताए ।
वरिष्ठ डिभिजनल वन अधिकृत आचार्यले बरन्डाभार क्षेत्र पर्यटन, वन्यजन्तुको बासस्थान र जलाधार व्यवस्थापनका दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न स्थानमा फोहर डम्पिङ, अव्यवस्थित उत्खनन र अन्य मानवीय गतिविधिका कारण संरक्षणमा चुनौती थपिएको बताउनुभयो । उहाँले बरन्डाभारको जङ्गल, राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई आवश्यक पर्ने पानीको प्रमुख स्रोत खगेरी खोला नै भएकाले यसको स्वच्छता र प्राकृतिक अवस्था जोगाउनु अपरिहार्य रहेको बताए ।
उनले भन्े “खगेरीले बरन्डाभारको जङ्गल, वन्यजन्तु र कृषियोग्य जमिनसम्म पानी पु¥याउने काम गर्दै आएको छ । त्यसैले यसको संरक्षण सबैको साझा जिम्मेवारी हो ।”
प्रमुख आचार्यले खगेरी जलाधारलाई संरक्षण गर्दै बरन्डाभारलाई वन विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । उनले यहाँका वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको अवलोकन गर्न पैदल यात्रा र जिप सफारीजस्ता पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सकिने बताए ।
उनले भन्े, “यो क्षेत्र पर्यटनदेखि अनुसन्धानसम्मका गतिविधिका लागि उपयुक्त छ । वन विज्ञानका विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ । ”
उनले कार्यलयमार्फत केही दिनपछि विस्तृत योजनासहित संरक्षण अभियान अघि बढाइने जानकारी दिए । त्यसका लागि खगेरी सिँचाइ जल उपभोक्ता समिति, बरन्डाभार उपभोक्ता समिति, बीसहजारी ताल व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागितामा छलफल गरी दीर्घकालीन संरक्षण, दिगो व्यवस्थापन, फोहर नियन्त्रण, जलाधार संरक्षण तथा सम्बन्धित निकायबीच समन्वय गरेर अभियान सञ्चालन गरिने बताए ।
प्रकाशित समय : ०६:५५ बजे


















