गृहपृष्ठ काभ्रेमा कृषि उत्पादन बढाउन सिँचाइ र आधुनिक प्रविधिमा जोड

काभ्रेमा कृषि उत्पादन बढाउन सिँचाइ र आधुनिक प्रविधिमा जोड

काभ्रेमा कृषि उत्पादन बढाउन सिँचाइ र आधुनिक प्रविधिमा जोड

काठमाडौं– काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक खेती र कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै कृषकको आम्दानी बढाउने गरी कार्यक्रम अघि बढाइएको जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा १० हजार २१० हेक्टरमा धान खेतीबाट ३९ हजार ५१३ मेट्रिक टन उत्पादन भएको छ । मकै २६ हजार १२० हेक्टरमा ९४ हजार १२० मेट्रिक टन, आलु १० हजार १०० हेक्टरमा २ लाख ९ हजार ७० मेट्रिक टन र तरकारी ११ हजार ३२५ हेक्टरमा १ लाख ९३ हजार ६५८ मेट्रिक टन उत्पादन भएको छ ।

तर जिल्लामा उत्पादित खाद्यान्नले वार्षिक आवश्यकता धान्न सकेको छैन । प्रशोधनपछि उपभोगयोग्य खाद्यान्न ६२ हजार ३२० मेट्रिक टन रहेकामा जिल्लाको वार्षिक आवश्यकता ७२ हजार ५९१ मेट्रिक टन रहेको छ । यसअनुसार करिब १० हजार २७० मेट्रिक टन खाद्यान्न अपुग रहेको कार्यालयले जनाएको छ ।

सिँचाइ र कृषि उत्पादनमा बजेट

चालु आर्थिक वर्षका लागि कृषि विकास कार्यालयले ५ करोड ५५ लाख ८६ हजार रुपैयाँ बजेट पाएको छ । त्यसमध्ये कार्यक्रम सञ्चालनका लागि ३ करोड ७५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

साना सिँचाइका २२ आयोजना सञ्चालन गर्न ५६ लाख रुपैयाँ, कफी क्षेत्र विस्तारका लागि २० लाख, व्यावसायिक तरकारी खेतीका लागि ४० लाख र ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

कार्यालयले उन्नत बीउ तथा बिरुवा, सिँचाइ, कृषि यन्त्र, सुरक्षित विषादी, भण्डारण तथा प्रशोधन, माटो परीक्षण, कृषक तालिम र बाली बीमालगायतका क्षेत्रमा सहयोग गर्ने जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले उत्पादन बढाउनुका साथै बजार, भण्डारण, प्रशोधन र उचित मूल्य सुनिश्चित गर्नुपर्ने बताए । उत्पादनदेखि बजारीकरणसम्मको शृङ्खला व्यवस्थित गर्न सके जिल्लाको कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु