गृहपृष्ठ २२ महिनापछि अभियुक्त पक्राउ
२२ महिनापछि अभियुक्त पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
सिरहा । ‘अब न्याय पाउँछौ’ । भन्ने विश्वास मरिसकेको थियो । दिन बित्यो, महिना बित्यो तर, भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास पनि हराइसकेको थियो ।
तस्करीलाई रोक्न खोज्दा तस्कर समूहले मारिएका सशस्त्रका प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका दाजु पाण्डव यादवको भनाइ हो यो, तर २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेपछि उनको परिवारमा न्यायप्रतिको विश्वास पलाएको छ ।
नागरिकलाई अन्याय पर्दा प्रहरीले सुरक्षा दिन्छ, भन्ने विश्वास सबैको हुन्छ । तर, त्यही सुरक्षामा खटिएका प्रहरीको हत्या हुँदा न्याय नपाए पछि विश्वास हराउँदै गएको थियो, अहिले मुख्य अभियुक्तलाई पक्राउ गर्दा हराएको विश्वास फर्किएको उनको दाजु पाण्डव यादवले बताए ।
घटनाको विवरण–
विसं २०८१ मङ्सिर १६ गते बिहानै भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि अँध्यारोमै ३ः०० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी टोली खटिएको थियो ।
बीओपी बडहरी बरियारपट्टीबाट प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको नेतृत्वमा उक्त टोली त्यसतर्फ खटिएको थियो । सूचना अनुसार सशस्त्र प्रहरीको टोलीले शङ्कास्पद गाडी आइरहेको देख्यो । उक्त गाडी डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जीप थियो ।
ड्युटी टोलीले उक्त जीपलाई रोक्न खोज्यो । तर, चालकले ड्युटीमा रहेका सई लक्ष्मणप्रसादलाई ठक्कर दिएर फरार भएको सशस्त्र प्रहरीले बताउँदै आएको छ ।
गम्भीर घाइते भएका सई लक्ष्मणप्रसादको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि गाडीमा सवार व्यक्ति फरार रहेका थिए ।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिको खोजी गरिरहेको थियो । घटना भएको २२ महिनापछि प्रहरीले भारत विहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ । उहाँ नै मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
सई लक्ष्मणप्रसादको हत्यामा प्रयोग भएको गाडीका धनी उहाँ नै रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले कुरवानसहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, महेशपुर पतारीको टोलीले पक्राउ गर्न खोजेपछि सिमा क्षेत्रबाट भाग्न खोज्ने क्रममा प्रहरीलाई लक्षित गरी उनीहरुले एक राउण्ड गोलीसमेत चलाएको प्रहरीको भनाइ छ ।
जवाफी कारबाहीमा प्रहरी टोलीले तीन राउण्ड गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गोली लागेर बाँया हातको कुहिनो र दाहिने कोखमा चोट लागेका कुरवानको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
मुख्य अभियुक्त समातिएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख वासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजङ्ग थापासहितको टोली मृतक सई लक्ष्मणप्रसादको घरमा पुगेको थिए। उनिहरुले बाँकी रहेका अभियुक्तहरुलाई चाडै समातेर न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाएका थिए ।
प्रकाशित समय : ११:४९ बजे


















