गृहपृष्ठ औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन आग्रह
औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन आग्रह
काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँ शाखाले जिल्ला भित्रका औषधि पसलहरूको वैधानिक सञ्चालन, व्यवसायी तथा फर्मासिस्टहरूको व्यावसायिक जिम्मेवारी र औषधि बिक्री वितरणलाई मर्यादित बनाउन विशेष अपिल गरेको छ ।
औषधि व्यवस्था विभागसँगको छलफलपछि सङ्घले एक अत्यन्त जरुरी सूचना जारी गर्दै दर्ताबिना पसल सञ्चालन नगर्न, अनुगमन छल्ने उद्देश्यले बिहान-बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल नखोल्न र आफ्नो नामको लाइसेन्स वा व्यावसायिक प्रमाणपत्र अन्य व्यक्तिलाई भाडामा नदिन कडा निर्देशन दिएको छ।
सङ्घका अनुसार औषधि व्यवसाय केबल व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सम्पूर्ण व्यवसायीहरूले कानुनी अनुशासन र पेसागत मर्यादाको पालन गर्नुपर्छ।
लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा प्रेस्क्रिप्सन आवश्यक पर्ने औषधिहरूको अनधिकृत वा बिनापुर्जा बिक्री–वितरण नगर्न सङ्घले सचेत गराएको छ। थोक व्यवसायीहरूलाई समेत दर्ता नभएका वा वैधानिकता पुष्टि हुन नसकेका खुद्रा पसलहरूमा औषधि आपूर्ति नगर्न आग्रह गरिएको छ।
प्रकाशित समय : १४:२७ बजे


















