गृहपृष्ठ न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा
तनहुँ ।  मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए)नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ ।
सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । आयोजनाका लागि तीन करोड ८८ लाख ८३ हजार छ सय ४३ अमेरिकी डलरमा सम्झौता भएको हो । सम्झौता सन् २०२४ जुलाई ३१ मा भएको थियो भने सन् २०२७ नोभेम्बर २२ सम्ममा सम्पन्न गर्ने गरी निर्माण सन् २०२४ अगस्ट १८ देखि सुरु गरिएको थियो ।
निर्माण सम्पन्न भएपछि न्यु दमौली सवस्टेशनले विद्युत् प्रसारण प्रणालीको क्षमता विस्तार तथा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पाँच पालिकामा विद्युत् वितरण प्रणाली सुधार
एमसिए नेपालले सवस्टेशन निर्माणसँगै साझेदारी क्रियाकलापअन्तर्गत तनहुँका पाँच स्थानीय तहमा विद्युत् वितरण प्रणाली सुधारको कामसमेत अघि बढाएको छ । यसअन्तर्गत पुराना तथा कमजोर विद्युत् पोल प्रतिस्थापन, एबी केबल तथा एसीएसआर केबल जडान र ट्रान्सफर्मर थप गर्ने काम भइरहेको छ ।
व्यास नगरपालिका-१, १२, १३ र १४ मा ४०७ वटा विद्युत् पोल फेर्ने, ४१ दशमलव २२ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा सात दशमलव ८२ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । त्यस्तै आँबुखैरेनी गाउँपालिका-३, ४ र ५ मा ३७४ वटा पोल प्रतिस्थापन, २४ दशमलव ६६ किलोमिटर एबी केबल जडान, सातवटा ट्रान्सफर्मर निर्माण तथा १८ दशमलव ८५ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने योजना छ ।
बन्दीपुर गाउँपालिका-२, ३ र ६ मा २८४ वटा पोल फेर्ने, २१ दशमलव शून्य पाँच किलोमिटर एबी केबल जडान, पाँच वटा ट्रान्सफर्मर निर्माण तथा १५ दशमलव ५५ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । घिरिङ गाउँपालिका-१, २, ३ र ५ मा ७८ वटा विद्युत् पोल प्रतिस्थापन, ५७ दशमलव ६८ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव छ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।
यसैगरी ऋषिङ गाउँपालिका-१, ६, ७ र ८ मा ९२ वटा पोल फेर्ने, ४२ दशमलव ६५ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव ६२ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने कार्यक्रम छ । एमसिए साझेदारी क्रियाकलापअन्तर्गत सञ्चालन हुने यी कामले ग्रामीण तथा सहरी क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ । पुराना पोल तथा तार विस्थापन गरी एबी केबल जडान गरिने भएकाले विद्युत् चुहावट तथा प्राविधिक समस्या न्यूनीकरण हुनुका साथै उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु