काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

1.37K
shares

काठमाडौँ । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ ।

गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको लेखक ह्वेनसाङ हुन् । उनले परम्परागत चिनियाँ भाषामा पुस्तक लेखेका हुन् । जसको आधुनिक चिनियाँ अनुवाद फु छियाङले गरेको छ भने नेपाली अनुवाद दीक्षा दवाडीले गरेकी हुन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चीनको ऐतिहासिक पक्षका विविध आयामका बारेमा पुस्तकबाट जानकारी हुने बताए । चिनियाँ भिक्षु ह्वेनसाङले जोखिमपूर्ण यात्रा गरी चीन फर्केर पुस्तक लेखेको पनि उनले सुनाए ।

मञ्जुश्रीदेखि ह्वेनसाङसम्म र भृकुटी, अरनिकोका कारण दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक रुपमा जोडेको अध्यक्ष दाहालले बताए । यात्रामा देखेका र सिकेका कुरा लेखकले पुस्तकमा उतारेको उनले जानकारी दिए ।

पूर्वशिक्षामन्त्री रघुजी पन्तले पुस्तकको १२३ पृष्ठमा लेखिएको वाक्यांशले बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हो भन्ने पुष्टि गरेको बताए । ‘त्यहाँ सम्राट अशोकले बनाएको ढुङ्गाको खम्बा छ । खम्बाको टुप्पोमा पहिले घोडाको मूर्ति थियो, पछि चट्याङ लागेर भाँचेको भनिन्छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।

“संसदीय समितिबाट लुम्बिनीको भ्रमणमा जाँदा चिनियाँ भाषामा लेखिएको यही पुस्तकमा उल्लेख गरिएको माथि उल्लेखित वाक्यांश प्रमाणका आधारमा बुद्धको जन्म लुम्बिनीमा भएको पुष्टि भयो, बुद्धसँगै हिन्दू देवालयका प्रसङ्ग पनि लेखक ह्वेन साङले लेखेका छन्, नेपाली भाषामा यो कृति आएर योगदान भएको छ”, उनले भने ।

बुद्धको सम्यक् चिन्तनका आधारमा चीन अघि बढेको उल्लेख गर्दै पूर्वमन्त्री पन्तले नेपाल–चीन मित्रतामा पनि पुस्तकको अनुवादले योगदान गर्ने विश्वास व्यक्त गरे । अटल साहस र आत्मविश्वासका साथ करिब एक हजार ४०० वर्षअघि प्राचीन चीनको राजधानी छाङ्आनबाट बौद्ध भिक्षु ह्वेनसाङ मध्यएसिया हुँदै अध्ययन भ्रमण गर्दै सन् ६३६ तिर नालन्दा पुगेको पुस्तकमा उल्लेख गरिएको छ । त्यही क्रममा उनले नेपालस्थित बुद्धको जन्मस्थल लुम्बिनीका साथै अन्य प्राचीन राज्य तथा धार्मिकस्थलको पहिचान र अध्ययन गरेका थिए ।

चीन फर्केपछि उहाँले तयार पारेको आफ्ना विवरण तथा अभिलेखहरुको कृतिका रुपमा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक लेखिएको हो । चिनियाँ भाषामा लेखिएको करिब एक हजार ४०० वर्षपछि यो पुस्तक नेपाली भाषामा अनुवाद गरिएको हो । आवृत्ति छापाखाना प्रालिले मुद्रण गरेको पुस्तकको मूल्य एक हजार तोकिएको छ ।