भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’
वि.सं.२०८३ कात्तिक २२ आइतवार ११:५९
shares

ललितपुर । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो ।
डा ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखेको उक्त पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गरेका छन । पुस्तकमा बाढीको उत्पत्ति र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन् ।
पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको छ । पुस्तकमा गत भदौ १० गते (अगस्ट २६) मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ । सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको उक्त बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्याएको थियो ।
‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ (आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन) उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा कसरी बाढी उत्पन्न भयो रु भन्ने घटनालाई प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरिएको छ ।
पुस्तकका अनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो । वर्षा र पूर्वचेतावनीबिनै आएको बाढीले स्थानीय बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै जनजीवन प्रभावित बनाएको थियो ।
‘न्यारेटिभ नन-फिक्सन’ (कथात्मक गैर-आख्यान) विधामा तयार गरिएको पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन् । विपद्का बेला देखिएका चुनौती र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक परिवर्तनबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा ईश्वरले जानकारी दिए ।
उनका अनुसार पुस्तकमा नेपालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेका राहत, पुन स्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन् । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा छ ।
पुस्तकमा उल्लेख भएअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।
राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका-५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका-१ का १९५, वडा नं ७ का ५० र वडा नं १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका-१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।
स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका-५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । विदुर नगरपालिका-१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भटर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो । विदुर नगरपालिका-२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ ।
पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुनस्स्थापनालाई प्राथमिकता दिएको छ ।
विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका उपायलाई पनि पुस्तकले महत्व दिएको छ । नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनस्प्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी-त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्यसुरक्षालाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।
विशेषगरी बाढी प्रभावित क्षेत्रमा एउटा मात्र भवन सुरक्षित रहनुका कारण, नदीको बहाव तथा गेग्रान व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा प्रभावित क्षेत्रका बासिन्दाका अनुभवलाई प्राथमिकता दिइएको छ । लेखकका अनुसार स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको सङ्कलनबाट पुस्तक तयार पारिएको हो ।
पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुन स्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ ।
























