गृहपृष्ठ पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन

पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
पाल्पा । पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार-व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन ।
स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगबाट बजारको मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक विराजले बताए । उपभोक्ताको स्वास्थ्य र मागलाई प्राथमिकतामा राख्दै प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग खोलिएको भन्दै उहाँहरूले ‘सिएन पिउने पानी उद्योग’ नाम राखेका छन । पछिल्लो समय बजारमा व्यापार-व्यवसाय सुस्ताउँदै गएको अवस्थामा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनुलाई सकारात्मक रूपमा लिइएको वडाध्यक्ष प्रदीप खनालले बताए । उनले भने, “उद्योगले स्थानीयस्तरमै रोजगार सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”
वडाध्यक्ष खनालले प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको गतिमा अघि बढिरहेको बताए । “प्रभासमा पिउने पानी उद्योग, दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ”, उनले भने । व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई नयाँ आधार मिल्ने अध्यक्ष खनालको भनाइ छ ।
प्रभास बन्दैछ नयाँ आर्थिक केन्द्र
तानसेन नगरपालिका-७ प्रभास पछिल्लो समय शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । मुख्य बजार क्षेत्रभन्दा बाहिर पनि विभिन्न प्रकृतिका उद्योग तथा संस्थाहरू सञ्चालनमा आउन थालेपछि प्रभास क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको पत्रकार भरत शर्माको बुझाइ छ । उनका अनुसार कुनै पनि क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनु त्यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुको सङ्केत हो ।
उद्योग तथा व्यवसाय थपिँदै जाँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीयस्तरमा वस्तु तथा सेवाको माग बढ्ने, आर्थिक गतिविधि चलायमान हुने शर्माले बताए । “प्रभास क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै गएका छन् । यसले यस क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्दै गएको छ”, उनले भने ।
तानसेन नेपालको पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँको व्यापार-व्यवसायमा केही कमी आएको व्यवसायीहरूको गुनासो छ । बजारमा ग्राहकको चहलपहल घटेको, नयाँ व्यापारिक केन्द्रहरू विकास भएको र उपभोक्ताको खर्च गर्ने शैलीमा परिवर्तन आएको अवस्थामा स्थानीय क्षेत्रमा नयाँ उद्योग स्थापना हुनु सकारात्मक उपलब्धि मानिएको छ ।
सिएन समूहले यसअघि यातायात क्षेत्रमा सफल लगानी गरिसकेको छ । व्यावसायिक सफलतासँगै यस समूहले विभिन्न सार्वजनिक स्थानहरूमा चौपारी निर्माण गर्नेलगायत सामाजिक र परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु