गृहपृष्ठ सिटिजन्स बैंकले सुदूरपश्चिममा रणनीतिक वृद्धि र बजेट कार्यान्वयनको समीक्षा गर्‍यो

सिटिजन्स बैंकले सुदूरपश्चिममा रणनीतिक वृद्धि र बजेट कार्यान्वयनको समीक्षा गर्‍यो

सिटिजन्स बैंकले सुदूरपश्चिममा रणनीतिक वृद्धि र बजेट कार्यान्वयनको समीक्षा गर्‍यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बैंकको व्यवसाय विस्तार, बजेट कार्यान्वयन र आगामी रणनीतिबारे समीक्षा गरेको छ ।

बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)’ कार्यक्रम आयोजना गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गरिएको थियो । साथै, चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल भएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको केन्द्र र प्रदेश तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा सुदूरपश्चिममा व्यवसाय विस्तारका सम्भावना पहिचान गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० वटा शाखा सञ्चालनमा छन् । बैंकले प्रदेशगत रूपमा व्यवसाय विस्तार र रणनीतिक योजनामाथि छलफल गर्ने उद्देश्यले यसअघि बागमती, कोशी र मधेश प्रदेशमा पनि यस्तै कार्यक्रम गरिसकेको छ ।

बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ र मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ शीर्षकमा कार्यक्रम सम्पन्न भइसकेको छ ।

सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा पनि रणनीतिक समीक्षा गरिएको हो । बैंकका अनुसार अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।

बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको खुद नाफा भने ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको  छ ।

सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा विभिन्न लक्षित ग्राहकका लागि नयाँ सेवा र उत्पादन थप गर्दै आएको छ ।

बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको पनि बैंकले जनाएको छ ।

युवालाई लक्षित गर्दै बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । यसैगरी, ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा ल्याइएको छ । उक्त सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा रहेको टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० वटा शाखा, १६७ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकका अनुसार यी माध्यमबाट २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान हुँदै आएको छ ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु