गृहपृष्ठ जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न एकीकृत पहल आवश्यक : सचिव पाण्डे
जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न एकीकृत पहल आवश्यक : सचिव पाण्डे
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले जलवायु परिवर्तनका चुनौती सामना गर्न सम्बन्धित क्षेत्रबीच एकीकृत रूपमा काम गर्नुपर्ने बताएका छन् ।
विहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कुटनीतिक प्रवद्र्धन सम्बन्धमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल हुनेछ ।
बैठकमा बोल्दै पाण्डेले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताए । उनले विशेषगरी क्रस–कन्ट्री वार्निङ सिस्टम निर्माणजस्ता विषय जटिल र साझा प्रयासबाट मात्रै अघि बढाउन सकिने बताइन ।
उनले भने, ‘एकीकृत रुपमा काम गर्नुपर्ने छ । केही क्षेत्रीय संस्थाहरू, यो क्रस—कन्ट्री वार्निङ सिस्टमहरू बनाउने कुराहरू एकदम पेचिला मुद्दा छन् । साझा देशहरू सबै मिलेर उठाउनुपर्ने भएको हुनाले यो सवालमा पनि छलफल गर्नुपर्ने छ ।’
उनले साझा जोखिम भएका देशहरूले मिलेर यस्ता विषय उठाउनुपर्ने बताए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् तथा जोखिमबारे पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्षेत्रीयस्तरमै सहकार्य र छलफल आवश्यक रहेको बताए ।
पाण्डेका अनुसार समितिले जलवायु विज्ञ, यस क्षेत्रमा कार्यरत गैरसरकारी संघ–संस्था तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूबाट सुझाव र धारणा संकलन गर्ने अभियान सञ्चालन गरिरहेको छ ।
उनले जलवायु परिवर्तनका विषयमा संघीय संसद्, संसदीय समिति तथा तीनै तहका व्यवस्थापिकाले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भइरहेको बताए ।
प्रकाशित समय : १५:२७ बजे


















