गृहपृष्ठ ‘विदेशमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक’

‘विदेशमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक’

‘विदेशमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक’

काठमाडौं । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा आवश्यक संशोधन गर्नुपर्ने बताएका छन् ।

ललितपुरको बागलामुखी मन्दिर परिसरमा आयोजित गैरआवासीय नेपालीका अभिभावकको राष्ट्रिय भेला तथा छलफल कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका नेपालीको देशसँगको सम्बन्ध नागरिकताभन्दा पनि रगत र वंशसँग जोडिएको विषय भएको बताए ।

उनले विदेशमा रहेका करिब एक करोड वंशजका नेपालीले अहिले पनि नेपालप्रति चासो र चिन्ता राखेर बसिरहेको बताए ।

उनले भने, ‘हामी देशभित्रै देश खोज्दै छौँ । एक करोड वंशजका नागरिकहरू अहिले पनि विदेशमा ‘नेपाल’ भनेर रातभर नेपालका बारेमा चिन्ता लिइरहनु भएको छ ।’

उनीहरूलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्ने उनले बताए । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाअनुसार विदेशिएका वंशजका नेपालीलाई नेपाल फर्कने वातावरण बनाउनुपर्ने उनले बताए ।

खनालले विदेशबाट आएका विभिन्न अभियन्ता तथा व्यक्तिहरूको सहभागितालाई उदाहरण दिँदै विदेशमा रहेका नेपालीहरू नेपालको विषयमा निरन्तर चासो राखिरहेको बताए । उनले नागरिकता अधिकारको विषयलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।

उनले नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति आलोचनात्मक टिप्पणी गर्दै विदेशमा रहेका वंशजका नेपालीको नागरिकता अधिकार कमजोर पार्ने काम राजनीतिक नेतृत्वबाट भएको आरोप लगाए ।

वंशजको नागरिकतालाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै संविधानमै व्यवस्था भएकाले नागरिकता ऐनमा मात्रै संशोधन गरेर समस्या समाधान नहुने उनले बताए । संविधान संशोधनमार्फत विदेशमा रहेका वंशजका नेपालीको अधिकार स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने उनले बताए ।

उनले विगतमा राज्यले विदेशमा रहेका नेपालीलाई नेपाल फर्किन आह्वान गरेको बताए । उनले नेपालमा रहेका तथा विदेशिएका नेपालीबीचको सम्बन्धलाई थप बलियो बनाउन राज्यले स्पष्ट नीति लिनुपर्ने बताए ।

 

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु