गृहपृष्ठ सुनसरीका एसपी मल्लद्वारा मातहत प्रहरी कार्यालयको निरीक्षण
सुनसरीका एसपी मल्लद्वारा मातहत प्रहरी कार्यालयको निरीक्षण
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले जिल्लाका मातहत प्रहरी कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा चुस्त बनाउन निर्देशन दिएका छन् ।
एसपी मल्लले इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र प्रहरी चौकी पानबारीको विशेष निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले कार्यालयको भौतिक अवस्था, प्रहरी परिचालन, सेवा प्रवाह तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
निरीक्षणपश्चात् मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै एसपी मल्लले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आग्रह गरे । उनले शान्ति सुरक्षा कायम गर्ने कार्यमा थप सक्रियता देखाउन तथा नागरिकसँग प्रहरीको सम्बन्ध अझ सुदृढ बनाउन निर्देशन दिए ।
उनले अपराध नियन्त्रण, अनुसन्धान तथा रोकथामका कार्यलाई प्रभावकारी बनाउन, नागरिकका गुनासा र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न तथा प्रहरी आचरण र व्यावसायिक मर्यादा कायम राख्न पनि निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित समय : १०:०२ बजे


















