गृहपृष्ठ जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी

जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ तीन अर्ब बढी विनियोजन गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब नौ करोड ४३ लाख रहेको बताए ।

यहाँको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनामा आएको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट एक अर्ब ८० करोड प्राप्त भएको छ ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनामा एक अर्ब ३९ करोड पुँजीगत बजेट विनियोजन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ ।

सडकमा आएको पुँजीगत बजेट कर्णाली राजमार्गलाई थप स्तरोन्नति गर्नेदेखि सडक निर्माणमा खर्च गरिने छ । अहिले ठेक्का आह्वनको काम धमाधम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताए ।

सघन सहरी तथा भवन आयोजनाले जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भौतिक संरचना निर्माणमा बजेट खर्च हुने गरेको जनाएको छ ।

५१ प्रतिशत मात्र पुँजीगत खर्च

सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको जुम्लाको कुल विकास बजेट मध्ये ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगततर्फ दुई अर्ब आठ करोड २५ लाख विनियोजन गरिएकामा एक अर्ब सात करोड ७० लाख अर्थात् ५१ दशमलव ७२ प्रतिशत खर्च भएको छ ।

पुँजीगततर्फ करिब एक अर्ब बढी बजेट खर्च हुन नसकेर फिर्ता गएको छ । सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी यहाँको सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको बजेट धेरै ‘फ्रिज’ भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ ।

सडक डिभिजन कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ ७९ करोड २५ लाखमध्ये ३३ करोड ८८ लाख अर्थात् ४२ दशमलव ६३ प्रतिशत मात्र खर्च भएको छ । कुल विनियोजित बजेटको झन्डै ४५ करोड खर्च हुन सकेर फिर्ता गएको छ ।

उक्त कार्यालयको सडक बोर्डबाट प्राप्त पुँजीगत बजेट ४३ करोड ५० लाखमध्ये ३९ करोड १० अर्थात् ८९ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको थियो ।

यसैगरी, सघन सहरी तथा भवन आयोजनाको पुँजीगततर्फ विनियोजित बजेट ८४ करोड ८४ लाखमध्ये रु ४१ करोड १२ अर्थात् ४८ दशमलव ४९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित समय : ०५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु