गृहपृष्ठ बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल

बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल

बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले नेपालमा गएको विनाशकारी बाढीपछि अमेरिकी संघीय सरकारको सहयोग जुटाउन अमेरिकी मन्त्रीहरु, सिनेटर तथा सांसदहरुलाई अपिल गरेको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए ।

एनआरएनए एनसीसी अमेरिकाका प्रमुख संरक्षक सुनील साहको पहलमा संचालित उक्त अभियानले नेपालमा तत्काल मानवीय सहायता र दीर्घकालीन पुनरुत्थानका लागि थप अमेरिकी सहयोग जुटाउन पत्राचार सुरु गरेको हो । कोभिड महामारीको बेला एनसीसी अमेरिकाका अध्यक्ष रहेका सुनील साहले यस्तै अभियान संचालन गरी नेपालका लागि औषधि, उपकरण तथा अन्य सहयोग जुटाएका थिए ।

नेपाल—तिब्बत सीमा नजिकैको हिमाली क्षेत्रमा गत भदौ १० (अगस्ट २६) गते गएको भीषण हिमपहिरो र चट्टान खसेपछि लेन्दे खोला, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको लेदोसहितको बाढीको पृष्ठभूमिमा उक्त अपिल गरिएको हो ।

उक्त विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजनालगायतका महत्त्वपूर्ण पूर्वाधार नष्ट हुनुका साथै जलविद्युत् सुरुङभित्र सयौँ श्रमिकहरू थुनिएका थिए । भदौ २१ (सेप्टेम्बर ७) सम्मको प्रतिवेदन अनुसार १३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने ७५ जना अमेरिकी नागरिकसहित करिब ५ हजार मानिस अझै बेपत्ता छन् ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहद्वारा हस्ताक्षरित पत्रमा अमेरिकी विदेशमन्त्रीलाई प्रारम्भिक ध्यानाकर्षण गराएकोमा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु रो खन्ना र जिम पी म्याकगभर्न लगायतलाई धन्यवाद दिइएको छ ।

साथै, नेपालको यो गम्भीर सङ्कटप्रति युएसएआइडी, विदेश मन्त्रालय र सम्बन्धित संसदीय समितिहरूको ध्यान आकर्षित गराउन नेतृत्वदायी भूमिकाका लागि अनुरोध पनि गरिएको छ ।

नेपाली—अमेरिकी समुदायले स्थानीय तहमा राहत सामग्री सङ्कलन गरिरहेको भए पनि यो विपद्को आकार डायस्पोराको क्षमताभन्दा धेरै ठूलो रहेको संस्थाले स्पष्ट पारेको छ ।

अपीलमा खाद्यान्न, आश्रय, खानेपानी र औषधीसहितका आपत्कालीन सामग्रीहरूको द्रुत वितरणस भत्किएका घर, सडक, पुल र ऊर्जा सुविधाहरूको पुनर्निर्माण, हिमनदी, पहिरो र बाढीको जोखिम अनुगमन गर्ने आधुनिक प्रविधिको जडानस स्थानीय आपत्कालीन उद्धार टोलीहरूलाई बलियो बनाउन प्राविधिक सहयोग, उपकरण र तालिम र सङ्कटापन्न हिमाली समुदायहरूका लागि दीर्घकालीन विपद्—जोखिम न्यूनीकरणमा रणनीतिक लगानीका लागि आग्रह गरिएको छ ।

एनआरएनए एनसीसी अमेरिकाले वर्तमान मानवीय सङ्कट सम्बोधन गर्न र भविष्यमा हुन सक्ने यस्ता जलवायुजन्य त्रासदीहरू रोक्न नेपाललाई सबल बनाउन अमेरिकी प्राविधिक अनुभव र स्रोत—साधन अत्यन्त महत्त्वपूर्ण हुने कुरामा जोड दिएको छ ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु