काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन्।

उनका अनुसार जोशीले आफ्नो व्यापार–व्यवसाय र घर मात्रै नभई परिवारका पाँच जना सदस्य—आमा, श्रीमती, दुई छोरा र बुहारी गुमाएका छन्। तीमध्ये एक छोराको शव भेटिए पनि डीएनए रिपोर्ट नआएको भन्दै परिवारलाई शव बुझाउन कठिनाइ भइरहेको उनले बताइन्।

ओलीले भनिन्, ‘उहाँ एक जना होइन, यो अवस्थाबाट गुज्रिरहनुभएको धेरै परिवारहरू हुनुहुन्छ। अब उहाँजस्तो पीडामा भएको मान्छेले कसरी त्यत्रो समय कुर्न सक्नुहुन्छ? राज्यको संवेदनशीलता यहाँ आवश्यक छ।’

प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट नआएको जोशीले आफूलाई जानकारी गराएको उनले बताइन्। डीएनएको रिपोर्ट सबैको एकैपटक निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने जानकारी पाएको पनि ओलीले सदनलाई जानकारी गराइन्।

उनले पूर्ण रूपमा पहिचान खुलिसकेका शवको छुट्टै व्यवस्थापन गरी सनाखत तथा मुचुल्का उठाएर तत्काल परिवारलाई जिम्मा दिन सरकारसँग आग्रह गरिन्।

‘कम्तीमा कि त स्पष्ट पहिचान खुलेकाहरूको परिवारलाई जिम्मा दिनुपर्‍यो, होइन डीएनएकै चाहिने हो भने उहाँहरू जस्ताको छुट्टै चाँडै डीएनएको रिपोर्ट आउने व्यवस्थापन गरिदिनुपर्‍यो,’ उनले भनिन्।