गृहपृष्ठ आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ ।
अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ । मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ । भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन् ।
यसैगरी, चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिनटार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनिघाट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन् ।
यसैगरी, महोत्तरीको रामगोपालपुर, सर्लाहीको कविलासी, बाराको सिम्रनगढ र तनहुँको आँबुखैरहनी र भानुमा उपचार केन्द्र रहेका छन् । आगामी असोज महिनामा सर्लाहीको हरिपुर्वा र नवलपरासीको बुलिङटारमा केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नेपाल नेत्रज्योति सङ्घका सभापति जयराम श्रेष्ठले बताए ।
अस्पतालले गत आर्थिक वर्षमा अस्पताल र केन्द्रमार्फत दुई लाख ९२ हजार ६७१ जनालाई बहिरङ्ग सेवा दिएको छ । शिविरका तर्फबाट ४२ हजार २७० जनालाई सेवा दिएको छ । कुल लाभान्वित सङ्ख्या तीन लाख ३४ हजार ९४१ रहेको उनले जानकारी दिए। चितवनसहित छिमेकी जिल्लाका २६ लाख समुदायलाई सेवा दिन सक्ने क्षमता अस्पतालको छ ।
गत आर्थिक वर्षमा ११ हजार ६९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दाताहरुको सहयोगमा सेवा विस्तार गर्न सकिएको श्रेष्ठ बताउछन । स्थानीय तहले अस्पताल र सेवा केन्द्र सञ्चालनमा भवनसहित आर्थिक लगायतका सहयोग गर्दै आएका छन् । यसका अतिरिक्त नेपाल सरकारको सङ्घ र प्रदेशले पनि सहयोग गर्दै आएका छन् ।
पाकिस्तान र भारतीय दूतावास, लायन्स क्लब, सेवा फाउन्डेसन, क्योरब्लाइन्डनेस, रुइट फाउन्डेसन, बैङ्क वित्तीय संस्थाहरुलगायत सामाजिक व्यक्तित्वहरुको सहयोगकै कारण अस्पतालले गुणस्तरसँगै सेवा विस्तार गर्न सकेको उनको भनाइ छ ।
अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीले उच्चगुणस्तरीय, पहुँचयोग्य र समयमै आँखा उपचार सेवा प्रदान गरेर नेपालमा देखिएको दृष्टिविहीनतालाई कम गर्न आफूहरु लागिपरेको बताए । अस्पतालमा ११ नेत्र विशेषज्ञसहित १६७ जना कर्मचारी कार्यरत छन् । अस्पतालले आँखा उपचारसँगै आँखा स्वास्थ्य शिक्षा, तालिम, अनुसन्धान तथा सामुदायिक पहुँच कार्यक्रममा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनि बताउछन ।
प्रकाशित समय : ११:०५ बजे


















