गृहपृष्ठ विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन्।
मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए।
उनले काठमाडौंमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताए। ‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उनले भने, ‘उनीहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ।’
यही भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो। यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव सङ्कलन गरिएको थियो। मन्त्री पोखरेलका अनुसार यात्राका क्रममा काठमाडौंमा बसेर सहजै जानकारी नहुने शिक्षा क्षेत्रका स्थानीय समस्या तथा व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ। कक्षाकोठादेखि समुदायसम्म पुगेर सङ्कलन गरिएका अनुभव र सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ।
उनले मधेसमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताए। कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापना पनि मधेसका लागि महत्वपूर्ण आवश्यकता रहेको उनले उल्लेख गरे।
विद्यालयमै पुगेर विद्यार्थीका कुरा सुनेपछि मन्त्री पोखरेलले सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको अनुगमन गरी विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए। सो क्रममा विद्यार्थीबाट पाठ्यक्रम निर्माणसम्बन्धी सुझाव पनि सङ्कलन गरिएको थियो।
त्यस्तै, बोदेबर्साइन नगरपालिका-३ स्थित श्री ईश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय, सारस्वर तथा शम्भुनाथ नगरपालिका-६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालय भगवतपुर बडहरीमा पनि शिक्षा सुधार र पाठ्यक्रम परिमार्जनसम्बन्धी सुझाव सङ्कलन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासले शिक्षामन्त्री विद्यालयमा नै आएर विद्यार्थी तथा शिक्षकका समस्या सुनेकामा खुसी व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा प्रविधियुक्त शैक्षिक सामग्रीको आवश्यकता रहेको बताए।
मन्त्री पोखरेलले राजविराज नगरपालिका तथा खडक नगरपालिकाका केही विद्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव तथा गुनासो सङ्कलन गरेका थिए।
विद्यार्थीहरूले पाठ्यक्रममा व्यावहारिक तथा जीवनोपयोगी विषय समावेश गर्नुपर्ने, अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने तथा विद्यालयको भौतिक र प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए।
मन्त्रीसहितको टोलीले बर्दिबासमा निर्माण हुने प्रस्तावित मेडिकल कलेजको स्थलको पनि अवलोकन गरेको थियो। सो क्रममा स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी मेडिकल कलेज निर्माणसँग सम्बन्धित स्थानीय आवश्यकता, अपेक्षा र सुझावबारे जानकारी लिइएको थियो।
मन्त्री पोखरेलले मधेस प्रदेश सरकारसँग समन्वय गरी शिक्षा तथा खेलकुद क्षेत्रको सुधारका लागि काम गर्नुपर्नेमा जोड दिए। यात्राका क्रममा सङ्कलित समस्या, अनुभव तथा सुझावलाई तथ्य र प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिने उनले बताए। नीतिनिर्माण वास्तविक समस्या र स्थानीय आवश्यकतालाई आधार बनाएर हुनुपर्ने भन्दै उनले सङ्कलित सुझावलाई आगामी नीति तथा कानुन निर्माणमा उपयोग गरिने स्पष्ट पारे।
मन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्य सीताराम साह, डा अकिता ठाकुर, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायतको सहभागिता रहेको थियो।
प्रकाशित समय : ११:०० बजे


















