गृहपृष्ठ झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक भएपछि दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै देउजाले फिल्मको सुरुवाती टिजर, फस्र्ट लुकदेखि नै दर्शकको चासो बढ्दै गएको र तीज गीत सार्वजनिक भएपछि उत्साह थप बढेको बताए ।

उनका अनुसार ‘झिंगेदाउ १’ युट्युबमा सार्वजनिक भएपछि पनि दर्शकको चासो थप बढेको थियो । टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा देखिएको भ्युज, सेयर तथा पोस्टिङले दर्शकको उत्साह प्रस्ट देखाएको उनको भनाइ छ ।

ट्रेलर सार्वजनिक गर्नुअघि भने आफूहरूमा केही डर रहेको देउजाले बताए । ‘झिंगेदाउ १’ प्रति दर्शकको हाइप बढिरहेका बेला ट्रेलरले त्यसलाई कायम राख्न सक्ला कि नसक्ला भन्ने चुनौती रहेको उनको भनाइ थियो । तर, ट्रेलर सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएपछि आफू उत्साहित भएको उनले बताए ।

उनले भने, ‘ट्रेलर सार्वजनिक गरेको १०–१५ मिनेटदेखि नै दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । यसले फिल्मप्रतिको उत्साह र जिज्ञासा बढाएको महसुस भएको छ । ‘झिंगेदाउ २’प्रति दर्शकको चासो र प्रतीक्षाले हामीलाई अझै आशावादी बनाएको छ ।’

फिल्म प्रदर्शनका लागि केही दिन मात्रै बाँकी रहेकाले पर्याप्त समय प्रचार–प्रसार गर्न नपाएकोमा भने उनले दुःख व्यक्त गरे । पछिल्लो समयको विपद्का कारण प्रचारमा समयको पाबन्दी भएको बताउँदै देउजाले अब दर्शक मनोरञ्जनतर्फ फर्किने आशा व्यक्त गरे ।

‘झिंगेदाउ २’ले दर्शकलाई मनोरञ्जनसँगै दुःख भुल्न र कठिन परिस्थितिबाट अघि बढ्न सहयोग गर्ने उनको विश्वास छ । दर्शकले फिल्मलाई माया गर्नेमा आफू निकै आशावादी रहेको उनले बताए ।

फिल्मको व्यापारप्रति पनि आफू पूर्ण रूपमा आशावादी रहेको देउजाको भनाइ छ । फिल्मको ट्रेलर, तीज गीत तथा फस्र्ट लुकमा दर्शकले देखाएको चासोले ‘झिंगेदाउ २’को प्रतीक्षा भइरहेको संकेत गरेको उनले बताए ।

उनले भने, ‘झिंगेदाउ २’ले दर्शकलाई मनोरञ्जनसँगै अहिलेको दुःख र कठिन परिस्थितिलाई भुल्न केही सहयोग गर्छ भन्ने विश्वास छ । ट्रेलर, तीज गीत र फस्र्ट लुकमा दर्शकले देखाउनुभएको चासोले उहाँहरू फिल्मको प्रतीक्षामा हुनुहुन्छ भन्ने देखाएको छ । त्यसैले फिल्मको व्यापारप्रति म पूर्ण रूपमा आशावादी छु ।’

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन रहेको छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन रहेको छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायतका कलाकारको अभिनय छ ।

 

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु