गृहपृष्ठ जेनजी आन्दोलनका घाइतेहरूकाे नाटक प्रदर्शन , जेनजी घाइतेहरूको संघर्ष अझै जारी छ
जेनजी आन्दोलनका घाइतेहरूकाे नाटक प्रदर्शन , जेनजी घाइतेहरूको संघर्ष अझै जारी छ
काठमाडौं । जेनजी सहिद स्मृति दिवस २०८३ को अवसरमा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा जेनजी आन्दोलनका घाइतेहरूले नाटक प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यसबाट घाइते तथा सहिद परिवारले भोगिरहेको पीडा र सरकारले पूरा गर्न बाँकी रहेका अपेक्षालाई नाटकमार्फत प्रस्तुत गरिएको हो ।
कार्यक्रममा बोल्दै घाइते जेनजी नेपालका अध्यक्ष बादल राईले सहिद तथा घाइतेहरूको संघर्ष अझै जारी रहेको बताए । सहिदहरूलाई सम्झिँदै नागरिकले देखाएको माया र सद्भावले आफूहरूलाई थप खुसी र गर्व महसुस भएको उनले बताए ।
उनले भने, ‘आज जुन सहिदहरू अझै पनि जीवित रहेछन् है भनेर तपाईंहरूले माया देखाउँदा झनै खुसी र गर्व लागेको छ। हामी हाम्रो संघर्ष, घाइते जेनजी नेपालको संघर्ष अझै जारी छ। यो संघर्षमा घाइते र सहिद परिवारको संघर्षमा तपाईंहरूले यसैगरी सधैँ साथ दिनुहुन्छ जस्तो लागेको छ। र दिनुहुने कुरामा म विश्वस्त छु।’
राईले घाइते तथा सहिद परिवारलाई नागरिकको निरन्तर साथ आवश्यक रहेको बताए। विगतका विभिन्न आन्दोलनमा घाइते र सहिद परिवारले भोगेको पीडालाई स्मरण गर्दै आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिन सबैको साथ आवश्यक रहेको उनको भनाइ थियो ।
‘घाइते परिवार र सहिद परिवारलाई सधैँ तपाईंहरूको साथको अभाव छ। नभए यो सरकारले जसकै सरकार आए पनि ४७ सालको आन्दोलन हेरौँ, १९ सालको आन्दोलन हेरौँ, त्योभन्दा अगाडिको आन्दोलनदेखि जनआन्दोलनदेखि घाइते आन्दोलनसम्म, अब घाइते आन्दोलन पनि आन्दोलनको हामी घाइतेहरू, हामी सहिद परिवारले भोलिका दिनमा त्यस्तै दुःख नभोगोस् भनेर तपाईंहरूले जेनजीका आमा, बुबा, दाजुभाइ जति पनि हुनुहुन्छ, तपाईंहरूको साथ हामी अपेक्षा गर्छौँ,’ उनले भने ।
उनले नाटकमार्फत आन्दोलनका क्रममा आफूहरूले भोगेको पीडा र घाउ समाजसामु पुनः देखाउन खोजिएको बताए। आन्दोलनको पीडा बिर्सिँदै गएको अवस्थामा त्यसलाई सम्झाउन नाटक प्रदर्शन गर्नुपरेको उनको भनाइ थियो ।
नाटकबाट कसैलाई असर परेको भए आफूले माफी माग्ने बताउँदै राईले आन्दोलनका क्रममा भएको पीडा संसारलाई देखाउन आवश्यक रहेको बताए ।
‘जतिलाई यो ड्रामाले गर्दा असर परेको छ उहाँहरूलाई पनि म सरी भन्न चाहन्छु, माफी माग्न चाहन्छु। तर यो देखाउनै परेको थियो दुनियाँलाई। बिर्सिसकेका थिए, हाम्रो घाउ ओइलाइसकेका थिए। त्यो घाउलाई देखाउन जरुरी थियो,’ उनले भने ।
राईले सरकारले अझै जेनजी आन्दोलनका क्रममा देखिएका सपना पूरा गर्न नसकेको बताए । कार्यक्रममा राईले नाटकका निर्देशक तथा जेनजी सहिद दिवसका संयोजक प्रतिक श्रेष्ठसहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले उपस्थित सहिदका आमाबुबा तथा परिवारजनप्रति समेत आभार व्यक्त गरे । त्यस्तै, संघर्ष समितिका अध्यक्ष गणेश चौलागाईं र सहिद परिवारका अध्यक्ष नारायण श्रेष्ठप्रति पनि उनले कार्यक्रमका लागि धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको व्यवस्थापन तथा सहयोगका लागि गृहमन्त्री र गृह मन्त्रालयप्रति समेत राईले आभार व्यक्त गरे । उनले सरकारको साथ आजका लागि मात्रै नभई आगामी दिनमा पनि निरन्तर रहनुपर्ने बताए । राईले आगामी वर्षहरूमा पनि घाइते तथा सहिद परिवारलाई सरकार र नागरिकको साथ निरन्तर आवश्यक रहेको बताए ।
प्रकाशित समय : ०४:४८ बजे

















