गृहपृष्ठ ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
रसुवा । सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन–तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ ।
बाढीपछि सडकमार्ग विच्छेद भएका हाकु, गत्लाङलगायतका गाउँबस्तीमा आज पनि दुईवटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोली उद्धार तथा राहत वितरणमा संलग्न सबै पक्षसँग समन्वय र सहकार्य गर्दै उद्धारसहित राहत वितरणमा अहोरात्र खटिएको छ ।
सङ्घीय सरकारको सहयोगमा बाढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा तुइन जडान गर्ने काम अघि बढेको छ । उद्धारकार्यमा कठिन देखिएको चिलिमे जलविद्युत् केन्द्रको टनेलभित्रको बाटो खुलाउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोग लिई नेपाली सेना नेतृत्वको टोलीले अहिले पनि युद्धस्तरमा सक्रिय भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले बताए।
यसैगरी, काठमाडौँ–स्वयम्भूस्थित ‘छाउनी गुम्बा’का तर्फबाट उत्तरी रसुवाका ठूलो स्याफ्रु, ब्रिदिम, थाम्जिङ, शेर्पागाउँका बासिन्दालाई लक्षित गरी ठूला ४२ र साना ११० गरी १५२ वटा सोलर प्राप्त भएको स्थानीयवासी उमेश तामाङले जानकारी दिए ।
त्यस्तै, राहत वितरणका क्रममा रसुवा–नुवाकोट पर्यटन समाजका तर्फबाट दक्षिण रसुवास्थित राम्चे, धइबुङ, जिबजिबे क्षेत्रका पीडितका लागि ३५ वटा जेनेरेटर प्रदान गरिएको अध्यक्ष बलराम न्यौपानेले बताए ।
प्रकाशित समय : १३:१८ बजे


















