गृहपृष्ठ बुटवल पावर कम्पनीद्वारा बाढी प्रभावितको राहतका लागि ५१ लाख ४१ हजार सहयोग
बुटवल पावर कम्पनीद्वारा बाढी प्रभावितको राहतका लागि ५१ लाख ४१ हजार सहयोग
काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेकमार्फत हस्तान्तरण गरेको हो। सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको खोज, उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।
उक्त रकमको चेक इप्पानमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा निजी क्षेत्रका तर्फबाट मानवीय सेवाका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ।
सामूहिक सहयोगमध्ये बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान गरिएको छ। यसमध्ये कम्पनीले २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीहरूले ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी, समूहअन्तर्गतका विभिन्न कम्पनीहरूले पनि राहत कोषमा योगदान गरेका छन्। न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार रुपैयाँ, हिमाल पावर लिमिटेडले ५ लाख रुपैयाँ, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
यसरी बुटवल पावर कम्पनी, यसका ग्रुप कम्पनी तथा कर्मचारीहरूको सामूहिक योगदानबाट कुल ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ राहत सहयोग जुटाइएको हो।
कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि बेपत्ता भएका नागरिकहरू शीघ्र सुरक्षित रूपमा सम्पर्कमा आउन् भन्ने कामना गरेको छ।
बुटवल पावर कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारबाट भइरहेका प्रयासमा निजी क्षेत्रका तर्फबाट ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएको जनाएको छ।
प्रकाशित समय : १९:०८ बजे


















