गृहपृष्ठ रसुवा बाढीपीडितको उद्धार र राहतका लागि राईट एण्ड एसोसियट्सको ६ लाख सहयोग

रसुवा बाढीपीडितको उद्धार र राहतका लागि राईट एण्ड एसोसियट्सको ६ लाख सहयोग

रसुवा बाढीपीडितको उद्धार र राहतका लागि राईट एण्ड एसोसियट्सको ६ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो। संस्थाका प्रबन्ध निर्देशक पीआर अधिकारीले भदौ १२ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सहयोगबारे जानकारी दिएका हुन्।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार र राहतलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

बाढी तथा पहिरोका कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै संस्थाले संकटको यस घडीमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।

‘यस दुःखको घडीमा थोरै भए पनि प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,’ प्रबन्ध निर्देशक अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थाका अनुसार राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। सिड्नीस्थित रकडेलका निर्देशक अरुण गौतमले पनि विपद्का बेला प्रभावित नागरिकको सहयोगमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गरेको बताए।

हालैको बाढी तथा पहिरोले विशेषगरी उत्तरी नेपालका विभिन्न क्षेत्रमा घर, सडक, पुललगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न निकायबाट सहयोग जुटिरहेको छ।

राईट एण्ड एसोसियट्स विगत २६ वर्षदेखि शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो। काठमाडौंको पुतलीसडकबाट सेवा सुरु गरेको संस्थाले सेवा विस्तार गर्दै नेपाल तथा विदेशमा एक दर्जनभन्दा बढी शाखा तथा कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ।

व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको संस्थाले विपद् तथा सामाजिक संकटका समयमा समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ।

‘एकता नै शक्ति हो, सहयोग नै मानवता हो’ भन्ने भावनासहित विपद्मा परेका नागरिकको साथमा उभिएको संस्थाले जनाएको छ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु