गृहपृष्ठ बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा पुनःस्थापित

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा पुनःस्थापित

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा पुनःस्थापित

काठमाडौं । भदौ १० गते आएको बाढीका कारण अवरुद्ध भएको मोबाइल तथा इन्टरनेट सेवा नेपाल टेलिकमले रसुवा, नुवाकोट र धादिङका सबै प्रभावित क्षेत्रमा पुनः सञ्चालनमा आएको छ ।

बाढीका कारण यी तीन जिल्लामा नेपाल टेलिकमका १२० साइटमध्ये ८३ साइटबाट सञ्चालित मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’का तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

नेपाल टेलिकमका प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्र र विपद् प्रतिकार्य कक्षबाट निरन्तर काम गरेपछि सबै साइट सञ्चालनमा आएका हुन्। सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षानिकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर र इन्धन पुर्‍याएर सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार भदौ १४ गते नेपाल–चीन सीमा नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै राहत तथा उद्धारका काम भइरहेका सबै प्रमुख प्रभावित क्षेत्रमा सञ्चार सेवाको पहुँच पुगेको थियो।

भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याइएपछि नेपाल टेलिकमका सबै साइट पुनः सञ्चालनमा आएका हुन्।

पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाट उपलब्ध हुने सेवा भने हाल अन्य साइटमार्फत उपलब्ध गराइएको छ। मोबाइल सेवाको प्रभावकारिता थप बढाउन क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखेर पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने टेलिकमले जनाएको छ।

बाढी आएको जानकारी पाएलगत्तै भदौ १० गतेदेखि नै नेपाल टेलिकमका प्राविधिक सेवा पुनःस्थापनामा खटिएका थिए।

भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र ब्याट्रीलगायत उपकरण पठाएर सेवा सञ्चालन गरिएको थियो। रसुवा सदरमुकाम धुन्चेमा पनि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

भदौ १२ गते रसुवाको गोल्जुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेको टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल र प्राविधिक टोली पुर्‍याएर सेवा सुचारु गरिएको थियो।

त्यसैगरी नुवाकोटका मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा जेनेरेटर तथा इन्धनसहित कर्मचारी परिचालन गरेर सेवा सञ्चालनमा ल्याइएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिकको टावर, उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएको थियो। त्यससँगै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि सुचारु भएका थिए। त्यस दिनसम्म प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आइसकेका थिए।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालनमा ल्याइएको थियो। त्यसमा रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइट, अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट थिए।

रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको टेलिकमले जनाएको छ।

भदौ १५ गते रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट पनि सञ्चालनमा ल्याइएको थियो।

प्रभावित क्षेत्रका प्राथमिकतामा रहेका साइटलाई निरन्तर सञ्चालनमा राख्न जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको टेलिकमले जनाएको छ। विद्युत् आपूर्ति नियमित नभएका केही साइट अहिले पनि जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन्।

कतिपय स्थानमा विद्युत् आपूर्ति सहज भएसँगै साइट स्वतः सञ्चालनमा आएका छन्। विद्युत् तथा नेटवर्क पूर्वाधार पुनःस्थापनासँगै फोरजी सेवाको प्रभावकारिता पनि बढ्दै गएको कम्पनीको भनाइ छ।

सेवा पुनःस्थापनाका क्रममा सहयोग तथा समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना तथा अन्य सुरक्षानिकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवाप्रदायकका प्राविधिक, सञ्चारमाध्यम तथा मोबाइल सेवासँग सम्बन्धित अन्य निकायप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ।

विपद्को समयमा समेत आम नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन र ‘राष्ट्रको सञ्चार’को गरिमा कायम राख्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु