गृहपृष्ठ रसुवा बाढीपीडितका लागि राष्ट्रिय जेनजी नागरिक अभियानले राहत पुर्याएको दाबी
रसुवा बाढीपीडितका लागि राष्ट्रिय जेनजी नागरिक अभियानले राहत पुर्याएको दाबी
काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानका संयोजक सुनिल सिंहले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि अभियानले आफ्नै नेतृत्वमा राहत संकलन गरी वितरण गरेको बताएका छन् ।
राष्ट्रिय जेनजी–नागरिक अभियानको बृहत् पत्रकार सम्मेलनमा बोल्दै सिंहले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरे ।
उनले भदौ २३ र २४ गतेपछि अभियानले निरन्तर रूपमा सरकारका गलत कदम, रवैया तथा देशमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध खबरदारी गर्दै आएको दाबी गरे ।
अभियानलाई लक्षित गर्दै सामाजिक सञ्जालमा ‘विरोधी’ तथा ‘परिचालित’ भएको आरोपसहित भ्रम फैलाउने काम भइरहेको भन्दै सिंहले त्यस्ता प्रचारको अभियानका सदस्यहरूले प्रतिवाद गरिरहेको बताए ।
रसुवा बाढीपीडितका लागि राज्यबाट आवश्यक काम हुनुअघि नै अभियानका सदस्यहरू प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेको उनले बताए । उनका अनुसार अभियानले नुवाकोट, रसुवा र टिमुरेलगायत क्षेत्रमा राहत संकलन गरी आफ्नै स्रोतबाट सवारीसाधन भाडामा लिएर राहत सामग्री पुर्याएको थियो ।
सिंहले विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु अभियानको प्राथमिकता रहेको बताउँदै राहत तथा उद्धारका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित समय : १९:५२ बजे


















