गृहपृष्ठ सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल
सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन ।
रास्वपाका प्रवक्ता जगदीश खरेलकाअनुसार बैठकमा विपद्पछिको पुननिर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठनको प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ ।
यही भदौ १० गते भोटेकोशीमा आएको बाढी पहिरोलगतै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो ।
उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ । सोहीअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो ।
प्रकाशित समय : १५:११ बजे


















