गृहपृष्ठ आरिफ चम्किएपछि पिपिएलमा चितवन राइनोजको लगातार तेस्रो जित
आरिफ चम्किएपछि पिपिएलमा चितवन राइनोजको लगातार तेस्रो जित
पोखरामा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ । एक्सपोर्ट धनगढीमाथि ५१ रनको जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा चितवन कायम रहेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८१ रनको बलियो स्कोर बनाएको थियो । कप्तान पारस खड्काले १५ बलमा १ छक्का र दुई चौकासहित २३ रन बनाए भने हङकङका ब्याट्सम्यान बबर हायातले २८ बलमा २ छक्का र तीन चौकासहित ३६ रन बनाए । पाँच विकेटमा १०९ रनको स्थितिमा पुगेको टिमलाई आरिफ सेख र सन्नी पटेलले अघि बढाएका थिए ।
आरिफले विस्फोटक इनिङ खेल्दै २० बलमा ४ छक्का र २ चौकासहित अविजित ४७ रन जोडे । सन्नीले १७ बलमा ३ छक्का र १ चौकासहित ३२ रन बनाए । यी दुई ब्याट्म्यानले छैटौं विकेटका लागि ३० बलमा ७० रनको आक्रामक साझेदारी भएपछि चितवन बलियो स्थितिमा पुग्यो । धनगढीका लागि अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन मात्रै खर्चेर दुई विकेट लिए ।
१८२ रनको विशाल स्कोर पछ्याएको धनगढीले कुनै रन नजोडी दुई विकेट गुमाएको थियो । धनगढीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ४० बलमा सर्वाधिक ४९ रन बनाए । उनले दुई छक्का र चार चौका प्रहार गरे । चितवनका लागि भुवन कार्कीले तीन तथा करण केसी र सन्नी पटेलले २/२ विकेट लिए ।
प्रकाशित समय : २२:४६ बजे


















