काठमाडौं । फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ । तर किशोर अवस्थामै विश्वकपमा गोल गर्ने अवसर भने निकै दुर्लभ उपलब्धि हो । विश्वकपको इतिहासमा १९ वर्ष नपुग्दै गोल गर्ने खेलाडीको संख्या निकै सीमित छ, जसमा ब्राजिलका महान फुटबलर पेले सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीका रूपमा आजसम्म शीर्ष स्थानमा छन् । सन् १९५८ को विश्वकपको क्वार्टरफाइनलमा वेल्सविरुद्ध पेलेले १७ वर्ष २३९ दिनको उमेरमा गोल गर्दै इतिहास रचेका थिए । उनले उक्त प्रतियोगितामा कुल ६ गोल गरेका थिए, जसमा फ्रान्सविरुद्ध सेमिफाइनलमा ह्याट्रिक तथा स्विडेनविरुद्धको फाइनलमा दुई गोल पनि समावेश छन् । यही प्रदर्शनले ब्राजिललाई विश्व च्याम्पियन बनाउन ठूलो भूमिका खेलेको थियो ।
यस सूचीमा दोस्रो स्थानमा मेक्सिकोका म्यानुएल रोसास छन् । उनले सन १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाविरुद्ध १८ वर्ष ९३ दिनको उमेरमा गोल गरेका थिए । रोसासले उक्त प्रतियोगितामा अन्य ऐतिहासिक उपलब्धि पनि हासिल गरेका थिए ।
तेस्रो स्थानमा स्पेनका युवा मिडफिल्डर गाभी रहेका छन् । उनले सन २०२२ को विश्वकपमा कोस्टारिकाविरुद्ध १८ वर्ष ११० दिनको उमेरमा गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा कम उमेरका युरोपेली गोलकर्ता बनेका थिए । स्पेनको ७–० को फराकिलो जितमा उनले आकर्षक भलीमार्फत गोल गरेका थिए ।
चौथो स्थानमा इङ्ग्ल्यान्डका माइकल ओवेन छन् । उनले सन १९९८ को विश्वकपमा रोमानियाविरुद्ध १८ वर्ष १९० दिनको उमेरमा गोल गर्दै त्यतिबेला सबैभन्दा कम उमेरका युरोपेली गोलकर्ताको कीर्तिमान बनाएका थिए ।
सूचीको पाँचौँ स्थानमा रोमानियाका निकोलाए कोभाच्स रहेका छन, उनले सन १९३० को विश्वकपमा पेरुविरुद्ध १८ वर्ष १९७ दिनको उमेरमा गोल गरेका थिए । त्यो उनको विश्वकप करियरको एकमात्र गोल भए पनि इतिहासमा विशेष स्थान बनाउन सफल भएको छ ।
विश्वकपको लामो इतिहासमा किशोर उमेरमै गोल गर्ने यी खेलाडीहरूको उपलब्धि आज पनि फुटबल जगतमा प्रेरणादायी मानिन्छ । एएनआई




















