global ime bank Long Banner Ad

गृहपृष्ठ हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ 

हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ 

हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ 

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताएका छन् । चलचित्र समीक्षा पुरस्कार २०८१–२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको उल्लेख गरे ।

उनले पछिल्लो समय नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय चलचित्रहरू राम्रो व्यापार गर्न सफल भएको बताए । ‘राम्रा फिल्महरू मज्जाले चलेका छन् । राम्रो नभए चल्दैन,’ उनले भने । यद्यपि, केही राम्रो चलचित्रहरू पनि विभिन्न कारणले अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ थियो ।

श्रेष्ठले चलचित्रको व्यापारिक सफलतालाई मात्र यसको गुणस्तरसँग जोडेर हेर्न नहुने धारणा व्यक्त गरे । उनका अनुसार कतिपय उत्कृष्ट चलचित्रहरूले पर्याप्त हल नपाउनु, प्रभावकारी प्रचार–प्रसार गर्न नसक्नु वा अन्य व्यवस्थापकीय चुनौतीहरूका कारण दर्शकमाझ पुग्ने अवसर गुमाउने गरेका छन् । ‘कतिपय राम्रा फिल्महरू पनि चलेका छैनन् । त्यसको नचल्नुको मतलब नराम्रो भन्ने हुँदैन। हल नपाएर, विज्ञापन गर्न नसकेका कारण पनि धेरै फिल्महरू चल्न सक्दैनन्। विभिन्न कारण हुन्छन्, तर हरेस खानु पर्दैन,’ उनले भने ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले पनि नेपाली चलचित्र क्षेत्रले हासिल गरिरहेको उपलब्धिबारे चर्चा गरिन् । उनले पुरस्कार प्राप्त गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई दिँदै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सफल हुनु नै ठूलो उपलब्धि भएको बताइन् ।

‘जति जनाले पनि अवार्ड पाउनु भएको छ, उहाँहरूलाई बधाई छ,’ उनले भनिन्, ‘हामीले यसरी हाम्रो सिनेमाहरूलाई विश्वभरि पुर्याउन सक्नु नै उपलब्धि हो ।’

चलचित्र समीक्षा पुरस्कार २०८१–२०८२ को अवसरमा कलाकारहरूले नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आफ्नो धारणा राख्दै गुणस्तरीय सामग्री निर्माण, प्रभावकारी वितरण प्रणाली तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा जोड दिएका थिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका सर्जक तथा कलाकारहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु