गृहपृष्ठ लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण छः प्रमुख मियाँ
लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण छः प्रमुख मियाँ
घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएको छ न।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारणसभाको उद्घाटन समारोहलाई आज धनगढीमा सम्बोधन गर्दै उनले पत्रकारहरू सत्य, तथ्य र जनचासोका विषयलाई निरन्तर उजागर गर्दै लोकतान्त्रिक आन्दोलन तथा व्यवस्था सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
प्रमुख मियाँले भने“लोकतन्त्रको संरक्षण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सुसूचित गराउन सञ्चारमाध्यम र पत्रकारको भूमिका अझै महत्वपूर्ण रहेको छ ।” अर्को प्रसङ्गमा उनले सकारात्मक सोच र सामूहिक प्रयासका साथ अगाडि बढे सुदूरपश्चिमको विकास र समृद्धिको नयाँ उचाइमा पुग्न सक्ने विश्वास व्यक्त गरे । प्रदेशमा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको प्रशस्त आधार रहेको उनको भनाइ थियो ।
“म लुम्बिनी प्रदेशको मान्छे हुँ । सुदूरपश्चिमबारे बाहिरबाट हेर्दा यो क्षेत्र धेरै पछाडि परेको होला भन्ने सोच थियो,” उनले भने “तर यहाँ आएर हेर्दा त्यो धारणा गलत रहेछ । यहाँको संस्कृति, पर्यटकीय क्षेत्र, धार्मिक सम्पदा र प्राकृतिक सौन्दर्य अत्यन्तै समृद्ध रहेछन् ।”
प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम विविध जातजाति, भाषा र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै यहाँका नागरिकबीचको सहकार्य र सद्भावले प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले प्रदेशका नदी, नाला, वन जङ्गल तथा प्राकृतिक स्रोतसाधनलाई उचित रूपमा उपयोग गर्न सके आर्थिक विकासका नयाँ सम्भावना सिर्जना हुने बताए ।
कैलालीस्थित घोडाघोडी तालको बुलबुले क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य भएको उल्लेख गर्दै उनले यस्ता प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
सो अवसरमा नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष नितु पण्डितले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र पत्रकारहरूको हकहित संरक्षणका लागि महासङ्घ निरन्तर क्रियाशील रहेको बताए। उनले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले तथ्यपरक, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेशमा शान्ति तथा सुरक्षा कायम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउँदै सञ्चार माध्यमको सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको सभाध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा लामो समयदेखि पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका अग्रज पत्रकारलाई सम्मानसमेत गरिएको थियो ।
प्रकाशित समय : १७:१० बजे



















