global ime bank Long Banner Ad

गृहपृष्ठ आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए

आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए

आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए

भक्तपुर । आज भक्तपुरसँगै काठमाडौँ उपत्यकालगायत नेवार समुदायले सिथि नखः पर्व भव्य रूपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षाको महत्त्वपूर्ण कार्य धान रोपाइँ ९स्थानीय भाषामा ज्याः० सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

आज सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरिएको छ । बर्सातका मौसममा बगेर आउने पानीको भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता पनि हो । हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको मान्यता छ ।

आजै भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने प्रचलन छ । नेवार समुदायमा सिथि नखःको महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्त्व रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताए।

उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला गणेशको र त्यसपछि कुमारको पूजाआराधना गर्नाले बर्सातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको प्राडा श्रेष्ठ बताए । आजको दिन पानीको मुहान एवं स्रोत सफल गरेर मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात् ‘बारा’ चढाउने र खाने चलन रहेको छ ।

त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ ९मुट्ठी पारी बनाइएको विशेष खालको रोटी० समेत खाने गरिन्छ । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखःको दिन साथै चामलको पीठोबाट बनाइएको विशेष प्रकारको रोटी चटामरी, पापड, गहुँको मालपुवालगायत विभिन्न पकवान खाने गरेको संस्कृतिविद् राजकुमार जोशी बताए ।

आज शुद्ध भई भक्तपुरको नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएको परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनाका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उनको भनाइ छ । सिठी नखका दिन माटोलाई चोट पुर्याउन हुन्न भन्ने मान्यताका साथ आज किसानले खेतबारीमा काम नगर्ने प्रचलन रहेको छ ।

आजको दिन दिगुपूजा (देवाली) को अन्तिम दिन मानिन्छ । आजको दिन काठमाडौँको जैसिदेवलमा सिद्धि कुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यः को पूजा गरिन्छ । त्यस्तै भक्तपुर –५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु