गृहपृष्ठ बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख सहयोग
बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख सहयोग
This photo released by Xinhua News Agency, shows a mudslide-hit area near Gyirong Port in southwestern China's Tibetan Autonomous Region on Wednesday, Aug. 26, 2026. (Xinhua via AP)
काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले रसुवास्थित भोटेकोशीमा गएको बाढीका कारण प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारका लागि २० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मञ्चको अन्तरराष्ट्रिय कमिटी सचिवालयको आकस्मिक बसेको बैठकले बाढी प्रभावित नागरिकको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न अन्तरराष्ट्रिय कमिटीको कोषबाट २० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
मञ्चले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा सहयोग पुर्याउन सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने मञ्चले जनाएको छ । प्रवासी नेपाली मञ्चले यसअघि पनि प्राकृतिक विपद्, महामारी तथा मानवीय सङ्कटका समयमा राहत तथा पुनर्निर्माणका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
मञ्चले तत्काल राहतमा मात्र सीमित नभई आवश्यकताअनुसार स्वास्थ्य पूर्वाधार निर्माण तथा दीर्घकालीन पुनस्र्थापनामा पनि योगदान गर्दै आएको जनाएको छ । यसै प्रतिबद्धताको निरन्तरतास्वरूप मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था एवं नेपाली समुदायलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न आह्वान गरिएको छ ।
प्रकाशित समय : २२:०० बजे


















