गृहपृष्ठ कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायलाई ३ करोड ३९ लाख बराबरको सहयोग
कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावित समुदायलाई ३ करोड ३९ लाख बराबरको सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका सामग्री नेपाली सेनालाई उपलब्ध गराएको छ।
बैंकले ५ वटा अत्याधुनिक क्यामेरा जडित निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको छ।
हालैको बाढी तथा प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। बैंकका अनुसार यो सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
विपद्को कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापना कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामनासमेत गरेको छ।
प्रकाशित समय : ११:५३ बजे
















