गृहपृष्ठ हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी
हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताए । क्षतिको यकिन विवरण संकलन भइनसकेको उल्लेख गर्दै उनले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेंसीलगायतका बस्ती प्रभावित भएको जानकारी दिए ।
उनका अनुसार रसुवाको टिमुरे क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र त्यहाँ कार्यरत सशस्त्र प्रहरी तथा त्रिशूली ‘ए’ र ‘बी’ आयोजनाका कामदारसमेत सम्पर्कमा नरहेको जानकारी आएको छ ।
नुवाकोटमा १२ भन्दा बढी पक्की पुलमा क्षति पुगेको, धादिङबेँसी जाने पक्की पुलसमेत क्षतिग्रस्त भएको तथा देवीघाट र त्रिशूली जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको उनले बताए । ऐतिहासिक त्रिशूली बजारसहित बेत्रावती, शान्तिबजार, तुप्चे, ढुंगे, देवीघाट र बागबानी क्षेत्र पनि प्रभावित भएको उनको भनाइ छ ।
सांसद केसीले विपद्को समयमा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । सरकारले विभिन्न हेलिकप्टर तयारी अवस्थामा राखेको भनिए पनि उद्धारको आवश्यकता भएका कतिपय स्थानमा तत्काल उद्धार हुन नसकेको भन्दै उनले सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठाए ।
‘विपद्को समयमा सबैभन्दा पहिलो कुरा उद्धार हो,’ उनले भने, ‘उद्धारपछि राहत र त्यसपछि पुनस्र्थापना राज्यको दायित्व हो ।’
केसीले विपद् प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्ने, खानेकुरा तथा आवासको व्यवस्था गर्ने र त्यसपछि उनीहरूको घर, खेत तथा सम्पत्तिको पुनस्र्थापनाका लागि एकीकृत प्याकेज ल्याउनुपर्ने बताए ।
उनले विपद् व्यवस्थापन र हिमताल विस्फोटको जोखिमबारे आफूले यसअघि नै सरकारको ध्यानाकर्षण गराएको स्मरण गरे । इसिमोड, विपद् व्यवस्थापनसम्बन्धी निकाय, विश्व बैंक तथा यूएनडीपीका प्रतिवेदन अध्ययन गरेर पूर्वतयारीका विषयमा संसद्मा कुरा उठाएको उनले बताए ।
विपद्को समयमा राजनीतिक दल, स्थानीय तह, सामाजिक संस्था र राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै केसीले राष्ट्रिय विपद्को अवस्थामा राजनीतिक विवादभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए ।
सांसद केसीले प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्मा उपस्थित भएर विपद्को वास्तविक अवस्थाबारे जानकारी गराउनुपर्ने मागसमेत गरे । सरकारले क्षतिको यकिन विवरण संकलन गरी तत्काल उद्धार, राहत र पुनस्र्थापनाको योजना अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘ओठे भक्तिले मात्रै हुँदैन, कुराले मात्रै हुँदैन, व्यवहारिक रूपमा यसलाई रूपान्तरण गर्न सरकार सफल होस्,’ उनले भने ।
केसीले विपद् प्रभावित क्षेत्रमा सरकारको गम्भीर ध्यान जानुपर्ने र सबै राजनीतिक दल तथा सम्बन्धित निकायलाई एकीकृत गरेर तत्काल काम अघि बढाउनुपर्ने बताए ।
प्रकाशित समय : १४:४३ बजे


















