गृहपृष्ठ कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा बोलाएको हो ।
साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ । प्रस्तावअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा अन्य शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमाथि समेत छलफल गरी निर्णय गर्ने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा बोनस शेयर र नगद लाभांश गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम रहेका शेयरधनी मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।
प्रकाशित समय : ०७:२५ बजे


















