गृहपृष्ठ डिजिटल नेपाल कन्क्लेभ २०२६ भाद्र ११ गते आयोजना हुँदै
डिजिटल नेपाल कन्क्लेभ २०२६ भाद्र ११ गते आयोजना हुँदै
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौँ संस्करण यही भाद्र ११ गते ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ।
आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनको मुख्य विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।
सरकारले सन् २०१९ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कलाई आधार बनाउँदै सन् २०२० देखि डिजिटल संवाद र कन्क्लेभमार्फत नीतिगत बहस तथा डिजिटल रूपान्तरणका विषयमा छलफल हुँदै आएको छ। यस वर्षको सम्मेलनमा नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता, डेटामा आधारित शासन प्रणाली र डिजिटल अर्थतन्त्रलाई प्रमुख बहसको विषय बनाइएको आयोजकले जनाएको छ।
सम्मेलनमा तीनभन्दा बढी मुख्य प्रस्तुति, पाँचवटा विषयगत प्यानल छलफल र एउटा पावर संवाद सञ्चालन हुनेछन्। त्यस्तै, डिजिटल नेपालको विकासमा काम गरिरहेका १० भन्दा बढी प्रविधि तथा नवप्रवर्तनलाई ‘डिजिटल स्पार्क’मार्फत प्रस्तुत गरिनेछ।
सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञसहित नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, मन्त्री तथा प्रतिनिधिसभा सदस्यको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा पाँच सयभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ।
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार डिजिटल नेपाल निर्माणको सरकारी योजनामा निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय निकायलाई एउटै मञ्चमा ल्याएर नीतिगत सुधार र कार्यान्वयनमा केन्द्रित छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य हो।
यस वर्ष नेपालीले विकास गरेका ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले सम्मेलनमा विशेष सहकार्य गरेका छन्। यी प्रविधिसहित २० भन्दा बढी नेपाली प्रविधिको प्रदर्शनीसमेत गरिनेछ। सहभागीले एआई प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्ने गरी विभिन्न इन्टरएक्टिभ प्रदर्शनीसमेत राखिने आयोजकले जनाएको छ।
सम्मेलनका छलफल मुख्यतः गभर्नेन्स तथा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डेटा–एआई तथा साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र तथा नवप्रवर्तन गरी प्रमुख विषयमा केन्द्रित हुनेछन्।
गभर्नेन्ससम्बन्धी सत्रमा संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन तथा डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ। डेटा, एआई तथा साइबर सुरक्षासम्बन्धी सत्रमा राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट र डेटा इन्टरअपरेबिलिटीका विषय उठाइनेछन्।
त्यस्तै, डिजिटल अर्थतन्त्र तथा नवप्रवर्तनसम्बन्धी सत्रमा डिजिटल रूपान्तरण, लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे बहस हुनेछ। अन्तिम सत्र डिजिटल नेतृत्व र रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धतामा केन्द्रित रहने आयोजकले जनाएको छ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ ले सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याएर नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदान–प्रदान, लगानी र रणनीतिक सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी हुन आयोजकको आधिकारिक वेबसाइटमार्फत टिकट लिन सकिने जनाइएको छ।
प्रकाशित समय : ०७:२८ बजे


















