गृहपृष्ठ बर्जुताल पर्यटकको रोजाइमा
बर्जुताल पर्यटकको रोजाइमा
सुनसरी ।बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउछन् । विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीसँग बर्जुताल आउने गरेको उनको भनाइ छ । “विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हुनेबित्तिकै साथीसँग साइकलमा यहाँ आउने गछौँ”, उनले भने ।
बर्जुताल पछिल्ला वर्षमा आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै गएको स्थानीय राजेन्द्र चौधरी बताउछन् । गर्मीको तुलनामा जाडो मौसममा पर्यटकको आगमन बढी हुने गरेको उहाँले जानकारी दिए। पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यापार तथा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ । “यहाँ घुम्न मात्र नभई भिडियो तथा गीतचलचित्र छायाङ्कनका लागि पनि विभिन्न ठाउँबाट मानिस आउने गरेका छन,” उनले भने ।
करिब १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जुताल समथर भू–भागमा फैलिएको विशाल जलाशय, हरियाली वातावरण र खुला प्राकृतिक दृश्य बर्जुतालका प्रमुख आकर्षण हुन् ।
तालको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायले पूर्वाधार निर्माण र विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रदेश सरकार र बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ताललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रु दुई करोड चार लाख बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट तालको स्वागतद्वार, वनभोजस्थल, चमेना गृह, टिकट काउन्टर तथा सार्वजनिक शौचालय निर्माण गरिएको संरक्षण समितिले जनाएको छ । साथै ताल क्षेत्रको सडक स्तरोन्नति तथा भूभाग व्यवस्थापनको कामसमेत गरिएको छ ।
बर्जुताललाई एक फन्को पैदल हिँडेर लगाउन करिब डेढ घण्टाभन्दा बढी समय लाग्छ । तालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यका कारण दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । मोरङ, सुनसरी, झापालगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् भने करिब ४० प्रतिशत पर्यटक भारतबाट आउने गरेकोसमितिको भनाइ छ ।
संरक्षण समितिका अध्यक्ष बिलतसिंह श्रेष्ठले बर्जुताल स्थानीय क्षेत्रको महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । गर्मी समयमा दैनिक करिब १५० जना पर्यटक आउने गरे पनि जाडो मौसम तथा पिकनिक सिजनमा दैनिक दुई हजार पाँच सयभन्दा बढी पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबार तथा सार्वजनिक बिदाको समयमा चारदेखि पाँच हजारसम्म पर्यटक बर्जुताल घुम्न आउने गरेको समितिले जनाएको छ ।
ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । जाडो समयमा ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गीको अध्ययन–अनुसन्धानका लागि उपयुक्त मानिन्छ । यसका कारण विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीसमेत बर्जुताल पुग्ने गरेका छन् ।
पर्यटकको आकर्षणका लागि तालमा अहिले १५ वटा चार सिटे पैडल डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गा सञ्चालनमा छन् । पर्यटकले डुङ्गा सयर गर्दै तालको मध्यभागसम्म पुगेर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् ।
ताल क्षेत्रमा सडक, वनभोजस्थल, सार्वजनिक शौचालय, चिल्ड्रेन पार्क, छातासहितको ६० भन्दाबढी बस्ने ठाउतालको बीचमा मन्दिर तथा चराचुरुङ्गीका बस्न आइसल्याण्डलगायतका संरचना निर्माण गरिएको छ । यी संरचनाले तालको पर्यटकीय आकर्षण थप बढाएको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा करिब रु एक करोड ४० लाखको लागतमा थारु सङ्ग्रहालय निर्माण गरिएको छ । साथै पर्यटकको आकर्षण थप बढाउने उद्देश्यले रु दुई करोड ५० लाखको लागतमा भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले जीर्ण तालको पुननिर्माण गरी विसं २०७३ मा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित समय : ०६:१२ बजे


















