गृहपृष्ठ नेपाल टेलिकमको चौथो त्रैमासमा सवा चार अर्ब नाफा

नेपाल टेलिकमको चौथो त्रैमासमा सवा चार अर्ब नाफा

नेपाल टेलिकमको चौथो त्रैमासमा सवा चार अर्ब नाफा

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रुपमा बढाउन सफल भएको छ।

टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ। तेस्रो त्रैमासमा तीन अर्ब १४ करोड ८० लाख १८ हजार नाफा नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार बढाएको हो।

सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन्। शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले तयार नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमका सेवा सुधारलाई प्राथमिकतामा राखिएको थियो। सुधारका लागि सरकारी प्रयासको नतिजा कम्पनीको वित्तीय स्वास्थ्यमा पनि देखिन थालेको हो।

नेपाल टेलिकमका प्रवक्त कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटा खपत बढ्दा आम्दानी बढेको छ। ‘पछिल्लो समय भ्वाइसमा भन्दा डाटा खपत बढेको छ, कम्पनीको सञ्चालन खर्च पनि गतवर्षको तुलनामा घटेको छ, आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो,’ उनले भने।

Arghakhachi cementShree Steel
नेपाल टेलिकमले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ।जसअनुसार नेपाल टेलिकमले गत आर्थिक वर्षमा मात्रै विज्ञापन र प्रायोजनलगायतका शीर्षकको खर्च कटौतीबाट १० करोडदेखि १५ करोड हाराहारी बचत गरेको जनाएको छ।

सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च घटेको छ भने नियामकलाई तिर्नुपर्ने रकम पनि अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको टेलिकमको तथ्याङ्कबाट देखिन्छ।

टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा एक अर्ब २२ करोड ४८ लाख चार हजार नाफा कमाएको थियो। अर्थात्, टेलिकमले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा करिब तीन अर्बले नाफा बढाएको हो। यो कर अघिको मुनाफा हो।

यो अवधिमा टेलिकमको कुल आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ। गत वैशाखदेखि असार मसान्तसम्ममा टेलिकमले १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार कुल आम्दानी गरेको छ।

जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५८ करोड ८२ लाख १२ हजार ४२८ ले बढी हो। आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा नेपाल टेलिकमले नौ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ बराबर कुल आम्दानी गरेको थियो।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु