गृहपृष्ठ नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता, आयोजक उत्साहित

नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता, आयोजक उत्साहित

नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता, आयोजक उत्साहित

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा १ लाख ८० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पो सोमबार उत्साहजनक सहभागिताबीच सम्पन्न भएको हो ।

छ दिनसम्म चलेको एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए । उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र शनिबार ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । आयोजकले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो ।

समापन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन् ।

उनले एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नभई नयाँ प्रविधि, ज्ञान र सिकाइको प्लेटफर्मका रूपमा स्थापित भएको बताइन् । ‘यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ‘आगामी दिनमा अझ ठूलो, राम्रो र बलियो भएर अघि बढ्ने लक्ष्य छ ।’

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ता आउनु नेपालको अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेत भएको बताए । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा बढी अवलोकनकर्ता, इन्क्वायरी र बुकिङ भएको बताए ।

नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको टिप्पणी गरे । कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा जोड दिइएको बताए ।

समापनका अवसरमा आयोजित ‘नाइमा मोबिलिटी संवाद’मा मोबिलिटी क्षेत्रको भविष्य, विद्युतीय सवारी, प्रविधि, उद्यमशीलता र नेपालको यातायात प्रणालीका विषयमा छलफल गरिएको थियो । संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाईं तथा थापाथली इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक लोचनकेन्द्र देवकोटाले सहभागिता जनाएका थिए ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले नाइमाले दोस्रो संस्करणको मोबिलिटी एक्स्पो आयोजना गरेको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताका ५५ भन्दा बढी ब्रान्ड सहभागी थिए ।

एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सर तथा रेडबुल पावर्ड बाईका रूपमा सहभागी थिए । एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा रहेका थिए । विभिन्न प्रविधि, शिक्षा, चार्जिङ, राइड, स्वास्थ्य, सुरक्षा, कनेक्टिभिटी तथा व्यवस्थापनसम्बन्धी संस्थाहरू पनि एक्स्पोका साझेदारका रूपमा सहभागी थिए ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु