गृहपृष्ठ मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै छ । यो पर्वमा नाग (सर्प)प्रजातिका जीवको पूजा गरेर मनाइन्छ । यस वर्ष भदौ सङ्क्रान्तिका दिन उक्त पर्व मनाउन लागिएको हो ।
सामान्यतया सौरमास साउनमै पर्ने गरे पनि यसपालि गत जेठमा परेको अधिकमासले चन्द्रमासका तिथिपछि धकेलिँदा भदौ लागेको मैथिल कर्मकाण्डी पुरोहितले बताए । सौरमासले आज भदौ सङ्क्रान्ति भए पनि चन्द्रमास परम्परामा यो पर्व मनाउने चलन छ ।
हिन्दू मैथिल परम्पराको ‘लगपाँच’ पर्वमा घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरिन्छ । गोबरले कोरिएको चित्रमा दुबो, सिन्दूर र अक्षता चढाइँदै नाग देवताको पुकारा र पूजा गरिन्छ ।
यस दिन नागले रुचाउने दूध, लावा (धान र जुनेलो भुटेर बनाइएको परिकार) चढाइने मैथिल परम्परा छ । मिथिला धेरैजसो पर्वविधि घरकी मुख्य महिलाले गर्ने चलनअनुसार यो पर्वको पूजा घरकी गृहिणीले गरे ।
घरका मुख्य महिलाले बिहान पवित्र स्नान गरेर पर्वको तयारी गरिने चलन रहेको मैथिल कर्मकाण्डका जानकार भङ्गाहा–५, सिद्धपुरका सन्तोष झाले जानकारी दिए । मिथिलामा ‘लगपाँच’ लगालग चाडबाड आउन थालेका सूचनाका रूपमा लिने गरिन्छ । ‘लगपाँच’ लगत्तै राखी ९रक्षाबन्धन०, भदैया रैब, कृष्णाष्टमी, कुशे अमावश्या चौरचन, इन्द्रजात्रा, पितृपक्ष, जितिया, दशहारा, दीपावली, छठलगायत पर्व एकपछि अर्को आउने हुँदा ‘लगपाँच’ लाई चाडबाड सुरु भएको सूचना मान्ने गरिएको छ ।
साउन÷भदौ सर्पादिको भय हुने हुँदा नागको पूजा गर्ने र नागलाई खुसी बनाउन पूर्वजले यो परम्परा बसाएका शिला ठाकुरले बताए । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरेमा वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको मिथिला संस्कृतिविद् जलेश्वर–५ का धु्रव राय बताए ।
प्रकाशित समय : ११:१८ बजे


















