गृहपृष्ठ एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा तेक्वान्दो खेलको निर्णायकका रूपमा छनोट भएका छन्।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा सिवाकोटीले तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त व्यक्ति हुन्। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन्।

सिवाकोटीले सन् २०२३ जनवरीमा संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। त्यसपछि सन् २०२४ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त गरेका थिए।

उनले यसअघि अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, मंगोलिया र भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगितामा समेत उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, गत मेमा मंगोलियाको उलानबटारमा भएको २७औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औँ एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची–नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको जिम्मेवारी सम्हालेका थिए।

सिवाकोटीको अन्तर्राष्ट्रिय खेल यात्रामा निर्णायकसँगै खेलाडीको अनुभव पनि छ। थाइल्यान्डको बैंककमा भएको चौथो हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिपमा खेलाडीका रूपमा सहभागी उनले मास्टर टिम पुम्सेमा कांस्य पदक जितेका थिए।

उनको प्राविधिक दक्षतालाई ध्यानमा राख्दै ८८एसियन तेक्वान्दो युनियन (एटीयू)८८ले सन् २०२६ का लागि उनलाई टेक्निकल कमिटी सदस्यसमेत नियुक्त गरेको छ।

यसअघि सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा भएको एटीयू रेफ्री एजुकेसन कोर्समा पनि सिवाकोटी सहभागी भएका थिए। एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हाल्दै आएका सिवाकोटी नेपालमा रेफ्री विकासका गतिविधिमा समेत सक्रिय छन्। उनले राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा पनि भूमिका निर्वाह गर्दै आएका छन्।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु